RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२१ गते
५४४ पटक

कोरोनाभाइरस (कोभिड–१९) का कारण सहरका अधिकांश निजी विद्यालयहरूमा अनलाइन माध्यमबाट पढाई भइरहँदा दुर्गम क्षेत्रमा भने विद्यार्थीहरू अन्योलमा छन् । इन्टरनेट, विद्युत् तथा प्रविधिमा दक्ष शिक्षक–शिक्षिकाजस्ता स्रोतको कमीले गर्दा ग्रामीण क्षेत्रमा कोरोनाले विद्यालय बन्द भएपछि पढाइ सुचारु हुन सकेको छैन । यसले गर्दा भविष्यमा सहर र ग्रामीण क्षेत्रमा समान तहको शिक्षा हासिल गरेका विद्यार्थीमा डिजिटल डिभाइडको चुनौती बढ्दै जाने देखिएको हो ।
सहरमा दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्ने छलफल हुन थालेको छ तर ग्रामीण क्षेत्रका विद्यार्थीलाई अनलाइन कक्षा कस्तो हुन्छ भन्नेसम्म थाहा छैन । मुगुको सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल (बम) ले गाउँपालिकाका ११ वटा वडामध्ये ७ वटामा मात्रै मुस्किलले टेलिफोन चल्ने बताइन् । घाम लागेका बेला फोन चल्छ तर पानी परेको र बादल लागेको बेला मोबाइल टावरको सिग्नल हराउँछ । वडा नं. ४, ५, ८, १० मा मात्रै फोन चल्छ यस्तो अवस्थामा विद्यार्थीलाई अनलाइन कक्षाका बारेमा सोच्न सक्ने अवस्था नभएको बताइन् । पूर्वाधार नभएको र हालसम्म उक्त गाउँपालिकामा विद्यार्थीहरू इन्टरनेटमा जानकार नभएकोले पहिलो ध्यान इन्टरनेट विस्तारमा जानुपर्ने उनी बताउँछिन् ।
राजधानीसँगै जोडिएको जिल्ला धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले पहुँचका हिसावले सेवा पुगेपनि गुणस्तर र मर्मतका विषयमा भने धेरै नै समस्या रहेको बताए । उनका अनुसार निजी विद्यालयका विद्यार्थीहरूले अनलाइन कक्षा लिएपनि सरकारी विद्यालयमा भने पढाइ हुन नसकेको बताए । सरकारले कोरोनाको त्रास बढेकोले विद्यालयहरू तत्कालका लागि नखोल्न भनेको छ । कतिपय जिल्लामा कोरोना महामारी कम भएकोले जोर विजोर रोल नम्बर प्रणालीमा स्कुल खुलेपनि पुर्ण रूपमा अध्ययन अध्यापन हुन सकेको छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोय गाउँमा पनि इन्टरनेट सेवा विस्तारका काम भएको बताउँछन् । उनल शिक्षा मन्त्रालयसँगको सहकार्यमा ई–शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको बताए । यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीलाई लाभ पुग्ने गरी काम भएको उनको भनाइ छ । कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्यधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जानसक्ने भन्दै ई–शिक्षामा काम गरेको उनको भनाई थियो । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्य सहरको तुलनामा गाउँमा केनेक्टिभीटी र कन्टेन्ट दबैको अवस्था दयनीय भएको बताए । सहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो रूप लिने हुँदा सचेत हुन पनि आग्रह गरे ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सन्दर्भमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेक्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए । इन्टरनेटको पहुँचले विद्यार्थीको पढनपाठन सहज हुने भन्दै नियामक निकायको ध्यान यसतर्फ जानुपर्ने उनको सुझाव छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्