RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२१ गते
८१५ पटक

सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरेको छ ।

कोरोनाको जोखिम उच्च रहेको र त्यसमा ज्येष्ठ नागरिक अझ बढी जोखिममा रहेको भन्दै आफूभन्दा ठूलाबाट दसैँमा लिइने आशिष अर्काे वर्षका लागि साँचेर राख्न आग्रह गरिएको हो ।

बुधबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले महामारीका वेला ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशीर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दसैँ मनाउन आग्रह गरे ।

उनले दसैँमा काठमाडौं उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका ओहोर–दोहोर नगरिदिन सरकारले आग्रह गरेको बताए ।
यदि ठूलो संख्यामा काठमाडौंबाट उपत्यकाबाहिर ओहोर–दोहोर भएमा त्यसले अनियन्त्रित ढंगबाट कोरोनाको फैलावट गर्ने र त्यो भयावह अवस्था हुने सरकारले ठहर गरेको छ ।

साथै प्रवक्ता ज्ञवालीले काठमाडाैं उपत्यका अझै पनि उच्च जोखिममा रहेकाले यहाँका बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

उनले देशका अरू जिल्लामा कोरोनाको प्रकोप नियन्त्रित हुँदै गएको भए पनि काठमाडौं उपत्यकामा नियन्त्रणउन्मुख नभएकाले निकै उच्च सकर्तता आवश्यक रहेको बताए ।

प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या बसोवास गर्ने उपत्यकामा कोरोनाको फैलावट अनियन्त्रित भएमा अति नै कठिन अवस्था आउनेप्रति सबैले संवेदनशील भएर बुझिदिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्