RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२२ गते
५८३ पटक

काठमाडौं । कोरोना संक्रमणको दर दिनानुदिन हजारौंको संख्यामा बढिरहँदा त्यसविरुद्धको व्यवस्थापनमा सरकारको तयारी फितलो बन्दै गइरहेको भन्दै चिकित्सक तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । संक्रमण बढिरहँदा राजधानी काठमाडौंलगायत मुलुकका अन्य सहर र गाउँहरूमा समेत संक्रमणको अवस्था भयावह बन्न सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसक्दासमेत संक्रमितलाई आवश्यक व्यवस्थापन गर्न सरकारले प्रभावकारी योजना र कार्यक्रम बनाउन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राजधानी काठमाडौं नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ बन्दै गइरहेको भन्दै अवस्था झनै खराब आउन सक्ने चेतावनी दिएका छन् ।

बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना संक्रमित थपिएका छन् । यो क्रम अझै बढेर जान सक्ने चिकित्सकले औंल्याएका छन् । कोरोना संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट फर्किएका कोरोना भाइरस सम्बन्धमा अध्ययन अनुसन्धान गर्दै आइरहेका वरिष्ठ चिकित्सक डा. रमेशकुमार आचार्यले सरकारको फितलो व्यवस्थापनका कारण संक्रमणको अवस्था अझै बढेर जाने र खराब स्थिति आउने दाबी गरे ।

‘यही अवस्था रहिरहे राजधानी काठमाडांै छिट्टै कोरोना संक्रमणको इपिसेन्टर बन्न सक्छ र संक्रमण नियन्त्रण बाहिर जान सक्छ,’ भाइरोलोजी र स्टिम सेलका वरिष्ठ अनुसन्धातासमेत रहेका डा. आचार्यले राजधानीसँग भने । उनले मानिसहरू जिल्लाबाट काठमाडौं आउने र काठमाडौंबाट जिल्ला जाने प्रवृत्ति बढिरहेकाले सहरदेखि गाउँसम्मै कोरोना संक्रमण अत्यधिक बढेर जाने अवस्था सिर्जना भइरहेको बताए ।

चिकित्सकका अनुसार यही क्रम बढ्दै गएमा सक्रिय संक्रमितलाई राख्ने आईसीयू बेड, भेन्टिलेटर र आइसोलेसन बेडको चरम अभाव हुनेछ र मृत्युदर अत्यधिक बढ्नेछ ।

‘सरकारसँग अहिले रहेको क्षमताले प्रभावितमध्येको सानो अंशलाई समेत नधान्ने अवस्था आउन सक्छ । त्यतिखेर हामीले निकै खराब अवस्थाको सामना गर्नुपर्ने स्थिति आउनेछ,’ डा. आचार्यले राजधानीसँग भने ।

डा. आचार्यले सरकारले छिटोभन्दा छिटो ४० हजार आइसोलेसन बेड, १० हजार आईसीयू बेड र २५ सयदेखि ४ हजार वटा भेन्टिलेटर तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता आंैल्याए । अहिले सरकारसँग आईसीयू बेड १ हजार ५ सय ७५, भेन्टिलेटर ८ सय ७५ र आइसोलेसन बेड ६ हजार छन् ।

सरकारले हालसम्म छुट्टै कोभिड अस्पतालसमेत निर्माण गर्न सकेको छैन् । सरकारले उल्टो अन्य रोगको उपचार गर्ने अस्पताललाई नै कोभिड अस्पताल बनाइदिएपछि ती अस्पतालबाटै कोभिड संक्रमण फैलिएको विज्ञहरूको भनाइ छ । अबका दिनमा भने सरकारले छिटोभन्दा छिटो कोभिडको उपचार गर्ने छुट्टै अस्पतालहरू निर्माण गर्नुपर्ने आवश्यकता विज्ञहरूले आंैल्याएका छन् ।

सरकारले कोभिड संक्रमितको परीक्षणको दायरा बढाउन नसक्दा समेत समस्या सिर्जना भइरहेको देखिएको छ । हाल सरकारले औसतमा प्रतिदिन १२ हजारको मात्रै परीक्षण गर्दै आइरहेको छ । विज्ञहरूका अनुसार समुदायमा संक्रमण तीव्र गतिमा फैलिएसँगै कम्तीमा दैनिक २० देखि ३० हजार व्यक्तिको परीक्षण हुनुपर्नेमा न्यून मात्रै भएकाले संक्रमितको संख्या भित्र भित्रै अत्यधिक रूपमा फैलिसकेको छ ।

‘यही अवस्था यथावत् रहे दुई महिनाभित्रमा नेपालका कुनै पनि अस्पतालमा बिरामीले सामान्य बेडसमेत पाउनेछैनन् । आईसीयू र भेन्टिलेरको सुविधा पाउने त कुरै छैन,’ डा. आचार्यले भने ।

‘सरकारले पीसीआरको दायरा बढाउनुपर्छ, कन्ट्याक्ट, ट्रेस र ट्र्याकलाई प्रवाभकारी रूपमा अगाडि बढाउनुपर्छ र तत्तकाल थप आईसीयू बेड, भेन्टिलेटर र एम्बुलेन्स खरिद प्रक्रियालाई अगाडि बढाउनुपर्छ,’ आचार्यको सुझाव छ ।

अस्पतालहरूले भौतिक पूर्वाधार, मेडिकल इक्विपमेन्ट, पीपीई सेटको प्रशस्त मात्रामा व्यवस्थापन गर्नुपर्ने आवश्यकतासमेत विज्ञहरूले औंल्याएका छन् ।

विज्ञ आचार्यले सात वटै अस्पतालमा १–१ हजार बेडको कोभिड विशेष अस्पताल बनाउन तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

अहिले भारतबाट तथा अन्य तेस्रो मुलुक र काठमाडौंबाट हजारौंको संख्यामा सर्वसाधारणहरू गाउँतिर जाने क्रम बढ्दो छ । ‘त्यसैले अब काठमाडौं मात्रै होइन, गाउँहरू पनि कोभिडको इपिसेन्टर बन्ने सम्भावना बढेको छ,’ आचार्यले भने ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्