RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२६ गते
५६१ पटक

बजारमा बिक्री हुने दूध, प्रशोधित पानी र खाद्यान्न सबैभन्दा बढी दूषित भएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय गरेको नमुना परीक्षणबाट दूध, पानी र खाद्यान्नमा कैफियत फेला परेको हो । दूध, पानी र खाद्यान्नको नमुना परीक्षण गर्दा स्वाथ्यलाई प्रतिकूल असर पर्ने गरी दूषित उत्पादन गरेको फेला परेको विभागको अध्ययनले देखाएको छ ।
दूधमा कोलिफर्मको मात्रा बढी, पानीमा तोकिएको मापदण्ड पूरा नगरी उत्पादन र गरेको र खाद्यान्नमा लेबल केरमेट भएको तथा ढुसीसमेत परेको फेला परेको छ । विभागका महानिर्देशक उपेन्द्र रायले दूषित उत्पादन गर्ने उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको जानकारी दिए । पछिल्लो समय पानी उद्योग, खाद्य उद्योग र दूधमा कैफियत भेटिएपछि ती उद्योगलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पार्ने गरी दूषित उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन अनुसार कारबाही गर्न लागिएको छ । विभागले खाद्य उद्योग, दाना उद्योग, होटेल रेष्टुरेन्ट, खाद्य पसल लगायतका खाद्य व्यवसायको अनुगमन गरेर ४ सय ३३ वटा नमुना संकलन गरेको थियो । संकलित नमुनाको परिक्षण गर्दा १४ वटा प्रतिकुल देखिएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको हो । प्रशोधित पानीको दुई, दूधको पाँच वटा उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।
तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्ने दुई वटा खाद्य उद्योग र खाद्य व्यवसायीको उत्पादनमा रोक लगाई सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ । यस्तै खाद्य व्यवसाय सञ्चालन गर्ने खाद्य उद्योगी तथा खाद्य व्यसायीविरुद्ध कारबाहीको क्रममा रहेको २१ वटा मुद्दा कार्यान्वयनको क्रममा रहेको विभागले जानकारी दिएको छ । जसमा पाँचवटा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा वितरणमा रोक लगाई मुद्दाको बयान सकेर सरकारी वकिलको कार्यलयमा लैजाने क्रममा रहेको विभागले जानकारी दिएको छ ।
चाडपर्वको समयमा बजार हुन सक्ने खाद्यान्नमा मिसावट, ठगी नियन्त्रण गर्नका लागि विभागले दैनिकजसो ३ वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको जानकारी दिएको छ । पछिल्लो समय बजारमा दूध, पानी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा बढी मिसावट हुने गरेको विभागको अध्ययनले देखाएकोे छ । स्वास्थ्यलाई प्रतिकुल असर पर्ने दूषित उत्पादन गर्ने उद्योगलाई विभागले खाद्य ऐनअनुसार कारबाही गर्ने गर्छ ।
विभागले दसैं, तिहार र छठको बेला बजारमा हुने सक्ने मिसावट नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न बजार अनुगमन गरी उजुरी तथा गुनासो सम्बोधन गर्ने भएको छ । चाडपर्वमा माछामासु, मिठाई, खाद्यान्न मिसावट धेरै हुने हुँदा विदाको दिनमा पनि बजार अनुगमलाई तिव्रता दिने विभागले जानकारी दिएको छ । विभागले सातै वटा कार्यलयमार्फत चाडपर्वमा हुने सक्ने ठगी मिसावटका उजुरी तथा गुनासो सम्बोधन गर्न कर्मचारी परिचालन गरेको छ । विभागले चाडपर्वको बेला राजमार्गका होटेल रेष्टुरेन्टमाबाट गुणस्तरहीन खाद्यान्न वितरण हुन सक्ने भन्दै अनुगमनलाई तिव्रता दिइने भएको छ । चाडपर्वको बेला यात्रुको आवतजावत बढी हुने हुँदा राजमार्गका होटेल रेष्टुरेन्टले गुणस्तरहीन खाद्यान्न खुवाउने गरेपछि त्यसलाई नियन्त्रण गर्न सम्बन्धित स्थानीय तहमार्फत अनुगमलाईनलाई तिव्रता दिने भएको छ ।

प्रतिकृया दिनुहोस्