RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२६ गते
८३८ पटक

सुर्खेत, । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले पार्टीका सांसदहरुले दर्ता गराएको अबिश्वासको प्रस्तावबारे मुख खोल्नुभएको छ ।

नेकपा कर्णाली प्रदेशकै सहइञ्चार्ज यामलाल कँडेलको नेतृत्वमा बहुमत सांसदहरुले संसदीय दलमा आफूबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेपछि दलका नेता तथा मुख्यमन्त्री शाहीले समस्याबाटै निकास आउने बताउनु भयो । उहाँले सांसदहरुको अबिश्वास मुख्यमन्त्रीका बिरुद्ध नभई दलका नेताबिरुद्ध भएकाले दलमा छलफल गरी निकास दिने बताउनु भयो ।

‘हस्ताक्षर सरकारविरुद्ध हैन, संसदीय दलको नेताविरुद्ध हो, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि यस्ता हस्ताक्षरका कुरा आएकै हुन । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो । अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुन्छ ।’

उहाँले दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक नरहेको पनि बताउनु भयो । ‘धेरै बोल्न आवश्यक छैन, केही दिनमै बैठक बसेर यो समाधान खोज्छौं,’ मुख्यमन्त्री शाहीको भनाई छ । मुख्यमन्त्री शाहीको कार्यशैली र सरकारको कामप्रति तीब्र असन्तुष्टि जनाउँदै हस्ताक्षर गर्ने १८ जना सांसदहरुमा पूर्वमाओवादीका नेतासमेत रहेका छन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद रहेका छन ।

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्वमाओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्