RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२६ गते
५५० पटक

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चासो दिएका छन्।

दुई अध्यक्षबीच सोमबार बिहान भेटवार्ताको मिति तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। ‘दुई अध्यक्षका बीचमा कर्णाली प्रदेशमा उत्पन्न परिस्थितिका विषयमा छलफल हुने छ’, प्रचण्ड सचिवालयका एक सदस्यले भने।

आइतबार कर्णाली प्रदेशका १८ जना नेकपा सांसदले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। ४० सदस्यीय संसदमा नेकपामा ३३ जना सांसद छन्। हस्ताक्षर गर्ने १८ जनामा १५ जना पूर्व एमालेका र ३ जना पूर्वमाओवादीका सांसदहरु छन्।

चुनावी गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले पार्टी एकता हुनुअघि नै दुई पार्टीको समीकरणबाट सरकार बनाउन सकिने ६ प्रदेशहरुको नेतृत्व बाँडफाट गरेका थिए। जसअनुसार, तत्कालीन माओवादीका शाही सो प्रदेशका मुख्यमन्त्री बन्न सफल भएका थिए। तर त्यतिबेला १३ सिटमात्रै रहेको माओवादीले मुख्यमन्त्री पाएपछि २० सिट रहेका एमाले सांसदहरु असन्तुष्ट थिए।

आफूलाई मुख्यमन्त्रीको रुपमा देखेका यमलाल कँडेलले सुरुदेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका थिए। आइतबार उनकै नेतृत्वमा मुख्यमन्त्रीमाथि ‘विद्रोह’को सुरुवात भएको हो। उनी अध्यक्ष ओली खेमाका सांसद हुन्।

सुरुवातमा पनि भागबण्डाबाट मुख्यमन्त्रीको टुंगो लगाइएका कारण शाहीमाथिको संकटलाई पार्टी एकताको मर्मसँग जोडेर हेरिने सम्भावना छ। त्यसैले केन्द्रले दिने निर्देशन प्रभावी हुनसक्ने आकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्