RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२७ गते
६४४ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का डा. भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत भएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले यस्तो बताएका हुन्।

उनले स्थायी कमिटी बैठकले प्रदेशमा हेरफेर गर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदै अविश्वासको प्रस्ताव आउनु अनिष्टताको सङ्केत भएको उल्लेख गरे। उक्त विषयप्रति पार्टी शीर्ष नेतृत्व गम्भीर हुनुपर्ने उनको भनाई छ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ। समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्। देशहित ठूलो हो।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरूले आइतबार अविश्वासको प्रस्ताव गरेका छन्। मङ्गलवार नेकपा कर्णाली प्रदेश कमिटीको संसदीय दलको बैठक बस्दैछ। नेकपा कर्णालीका सांसदहरूले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ। यस विषयमा शीर्ष नेतृत्वबीच पनि छलफल भइरहेको छ।

आज बिहान मात्र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको यस विषयमा छलफल भएको छ। अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएकोले उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन्। कर्णाली प्रदेशमा देखिएको समस्या अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने नेकपा नेताहरूको भनाई छ।

सोही क्रममा नेकपाका नेता भीम रावलले पनि उक्त विषयको विरोध जनाउँदै यस्ता किसिमका गतिविधि समाधानमा जोड दिएका छन्। उनले पार्टी एकतामा आँच पुग्ने काम कहीँ कतैबाट हुन नहुने बताएका छन्। नेता रावल पार्टी स्थायी कमिटी बैठकको मर्म, भावना अनुसार पार्टीका गतिविधि सञ्चालन हुनु पर्नेमा जोड दिँदै आएका छन्।

प्रतिकृया दिनुहोस्