RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२९ गते
६७४ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री थपेका छन् भने केहीको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहेका विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेका छन् । पौडेल पूर्वअर्थमन्त्री समेत हुन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा पौडेल अर्थमन्त्री भएका थिए । त्यसबेला उनी तत्कालीन एमालेका उपमहासचिव थिए । उनी अहिले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको महासचिव छन् ।

अर्थमन्त्रीका लागि नेकपा वरिष्ठ नेता माधव नेपाल निकट मानिने सुरेन्द्र पाण्डेदेखि हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्मको चर्चा थियो । अन्ततः ओलीले आफू निकटकै पौडेललाई अर्थ मन्त्रालयको जिम्मा दिएका हुन् । अर्थमन्त्रीमा कुरा नमिल्दा केही समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । अर्थ मन्त्रीका रूपमा आएका पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पनि समर्थन रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको जिम्मा नयाँ मन्त्रीलाई दिएका छन् । प्रधानमन्त्रीले कृष्णगोपाल श्रेष्ठलाई सहरी विकासमन्त्रीमा नियुक्त गरेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् । अब पोखरेलले प्रधानमन्त्रीलाई प्रत्यक्ष सहयोग गर्नेछन् । पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लीलानाथ श्रेष्ठलाई दिइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नै मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद् सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले राख्दै आएका थिए ।

तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गत वर्षको पुस पहिलो साता राजीनामा दिएपछि सो मन्त्रालय पनि रिक्त भएको थियो । प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा मुछिएपछि उनले फागुन पहिलो साता पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि ओलीले निवर्तनमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै सञ्चारको पनि जिम्मेवारी दिएका थिए ।

अर्थ, सञ्चार तथा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका डा. खतिवडाले संवैधानिक प्रावधानअनुसार १९ भदौमा राजीनामा दिएका थिए । अर्थ र सञ्चारको जिम्मा प्रधानमन्त्री आफैंले लिँदै आएका थिए भने सरकारको प्रवक्तामा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्