RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२९ गते
५७८ पटक

उत्तरी छिमेकी चीनले हुम्लाको सीमा क्षेत्रमा २ किलोमिटर नेपाली भूमि मिचेको ठहर गरेको छ । नेता जीवनबहादुर शाहीको नेतृत्वको टोलीले दिएको अध्ययन प्रतिवेदनका आधारमा कांग्रेसले यस्तो ठहर गरेको हो ।

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शाही नेतृत्वको टोलीको अध्ययन प्रतिवेदनसमेत कांग्रेसले बुधबार सार्वजनिक गरेको छ । हुम्ला सदरमुकाम सिमकोटबाट ५० कोसमा रहेको नाम्खाको लिमीमा चीनले नेपाली भूभाग मिचेको ठहर प्रतिवेदनमा छ ।

५ देखि १२ नम्बर सीमास्तम्भसम्म टोलीले ११ दिन लगाएर अध्ययन गरेको थियो । प्रतिवेदनमा गप्पुदोचादेखि नेपालले निर्माण गरेको दुई किमि सडकखण्ड चीनले अतिक्रमण गरेको किटान गरिएको छ । चीन सरकारले लोलुङजोङमा निर्माण गरेका भौतिक संरचना नेपाली भूभागभित्र रहेको कांग्रेसको दाबी छ ।

लाम्चा भन्ज्याङमा नयाँ निर्माण गरिएको १२ नं सीमास्तम्भ सही ठाउँमा नरहेको प्रतिवेदनमा उल्लेख छ ।

चीनले नियमविपरीत हिल्सा सीमामा ९(२) स्तम्भको बीच रेखामा तारबार तथा गेट निर्माण गरेको, किटमा रहेका सीमास्तम्भहरू क्रमशः ५(१) र ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखिएको, पुरानो ५(२) नम्बर स्तम्भलाई उखेलेर हाल एकलौटी नयाँ बनाइएको, नयाँ निर्माण गरिएका र पुराना सीमास्तम्भहरूको बनावट तथा अक्षरका लिपि फरक–फरक रहेको कांग्रेसको अध्ययन प्रतिवेदनमा समावेश छ । सीमा विवाद तत्काल समाधान गरेर सीमावासीको मनोवैज्ञानिक समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै सीमा मिचिएको तथ्य सार्वजनिक हुँदासमेत सरकार त्यसलाई ढाकछोप गर्न लागेको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्