RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२ गते
९९३ पटक

जुम्ला : गुठीचौर गाउँपालिकामा स्थानीय सरकारलाई चूनौति दिँदै जनक थकालीले विपन्न परिवारलाई २३ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन

अहिलेसम्म स्थानीय सरकारले यति ठूलो मात्रामा राहत दिन सकेको छैन। तर कार्यपालिकाका सदस्यसमेत रहेका थकाली एक्लैले नौ सय परिवारलाई आफ्नै खर्चबाट राहत उपलब्ध गराएका हुन्।

थकालीले प्रत्येक परिवारलाई २० केजी चामल र एक पोका तेल दिएका हुन। महामारीका कारण संकटमा परेका बेला दशैँको मुखमै राहत पाएपछि स्थानीयहरू निकै खुशी भएका छन्‌।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, उपाध्यक्ष जानदेवी ऐडी, नेकपा जिल्ला सचिवालय सदस्य आदिप्रसाद न्यौपाने, नेपाली काँग्रेसका गुठीचौर गाउँपालिका सभापति अर्जुन महताराको रोहवरमा राहत हस्तान्तरण गरिएको हो।

राहत लिन आएका स्थानीय उजेला रोकाया लगायतले थकालीलाई खादा र अवीर लगाएर सम्मान गरेका थिए। उनीहरूले संकटका समयमा असल व्यक्तित्व भेटाएको बताएका छन्‌।

केही समययता जनक थकाली जडिबुटी व्यवसायमा संलग्‍न छन्‌। उनले यार्यागुम्बा र सेतक चिनी संकलन र बिक्रीवितरण गर्ने गरेका छन्‌। राहत वितरण गर्दै थकालीले भने,‘यो राहत मैले रुपैयाँ धेरै भएर बाँडेको होइन। मलाई तपाईैहरूले जडिबुटी दिनुभयो। बुटी हो।

थकालीले भने,‘अब हामी कृषि व्यवसायमा सहभागि बनौँ। तपाईंहरूले उत्पादन गरेको हरेक कृषि वस्तुको व्यवस्थापनमा साथ दिनेछु।’

स्थानीय नेता अर्जुन महताराले विपन्न नागरिकको दुखको बेला राहत दिएकोमा खुसी व्यक्त गरेका छन्‌। उनले जनताको सुखदु:खमा सारथी बनिदिएकोमा आभार समेत प्रकट गरेका हुन्‌। उनले भने, ‘स्थानीय सरकारले बाँड्नुपर्ने राहत एक्लो व्यक्तिले बाँड्नु राम्रो पक्ष हो।’

 

प्रतिकृया दिनुहोस्