RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/६ गते
६०५ पटक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ९ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ९ लाख १० हजार ८७५ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ३६ हजार ३३५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ करोड १४ लाख ८४ हजार ६३२ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २७ हजार ४०९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६३ हजार ६६३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २२५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिका  पछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७०३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५३ लाख ६४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ४५९ पुुगेको छ ।

प्रतिकृया दिनुहोस्