RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/७ गते
५७६ पटक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) सञ्चालन गर्ने भएको छ । देशभरका विभिन्न अस्पतालमा यी एचडीयूहरु केही सातामा सञ्चालनमा आउनेछन् ।

एचडीयू भन्नाले बिरामीलाई अक्सिजन सुविधासहित दिइने बेड हो । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुबिधासहितको ब्यवस्था गरिएको हुन्छ । मन्त्रालयले एचडीयू चार चरणमा गरेर ६ हजार बेड सञ्चालन गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएका बेला धेरै विरामीलाइ अक्सिजन सुविधा चाहिने भएकाले उक्त सुबिधासहितको यूनिट सुरुवात गर्न देशभरिका करिब चार दर्जन अस्पताललाई बजेट पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एचडीयू स्थापनाका लागि अस्पतालहरुलाई चार अर्ब २५ करोड २७ लाख २० हजार रुपियाँ विनियोजन गरी पठाइएको जानकारी दिनुभयो । उहाले भन्नुभयो, “प्रत्येक प्रदेशमा तीन–तीन अस्पतालमा गरी सात प्रदेशको २१ अस्पतालमा २५ शय्याको हाइ डेपेन्डेन्सी यूनिट पहिलो चरणमा सञ्चालनमा आउनेछन् ।” सात वटै प्रदेशका अस्पतालमा २५ शय्याको यूनिट सञ्चालनमा आउनेछन् ।

प्रदेश-१ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी र मेची अस्पताल, प्रदेश-२ को जनकपुरधाम, नारायणी र सगरमाथा अस्पताल, वागमती प्रदेशको भरतपुर, हेटौंडा र धुलीखेल अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वाग्लुङ्ग र गोरखा अस्पताल, लुम्बिनि प्रदेशको लुम्बिनि अस्पताल, राप्ती एकेड्मी अफ हेल्थ साइन्स र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली एकेड्मी अफ हेल्थ साइन्स, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिम प्रदेशको सेती, महाकाली र डँडेल्धुरा अस्पतालमा २५ एचडीयू कक्ष ब्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ ।

काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक एक सय शय्याको एचडीयूको बजेट विनियोजन गरी पठाइएको मन्त्रालयले जनाएको छ । उपत्यकाकै परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, दहचोक अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरी अस्पतालमा ५०–५० शय्याको व्यवस्थापन गरिनेछ ।

नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, कान्ति अस्पताल, नरदेवी अस्पताल, मनमोहन कार्डियोभास्कुलर, मेन्टल अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका र भक्तपुर जिल्ला अस्पतालमा २५–२५ शय्याको एचडीयू क्षमताको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले देशैभरिका अन्य अस्पतालहरुमा पनि चार चरणमा यस्यूता युनिट स्थापना र ब्यवस्थापनको कार्य अगाडि बढ्ने बताउनुभयो । उपत्यकाभित्र थप सुमेरु अस्पताल, मेडिसीटि, नेपाल कोरिया मैत्री अस्पताल, हयाम्स र अल्का अस्पतालमा समेत २५–२५ बिस्तारै उक्त सुबिधा बिस्तार गरिने छ ।

प्रतिकृया दिनुहोस्