RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/७ गते
६६३ पटक

चालू आर्थिक वर्ष २०७७-७८ को दुई महिनामा ८.१ प्रतिशतले रेमिट्यान्स (विप्रेषण) बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू वर्षको दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।

गत वर्षको सोही अवधिमा भने ०.६ प्रतिशतले घटेको थियो । प्रतिवेदन अनुसार, रेमिट्यान्स ८.१ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्सको आप्रवाह २.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवस्थामा यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो । रेमिट्यान्स बढ्दा र कोभिडको कारणले आयात कम हुँदा चालू खाता चालू खाता २६ अर्ब ७ करोडले बचत देखिएको थियो । शोधनान्तर स्थिति भने ६७ अर्ब ६३ करोड बचतमा छ ।

यस अवधिमा आयात २२.१ प्रतिशतले घटेको तथा निर्यात १०.५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रहेकोमा २.३ प्रतिशतले वृद्धि भई भदौ मसान्तसम्ममा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । बैंकका अनुसार कुल आन्तरिक कर्जा भने ०.३ प्रतिशतले घटेको छ, अघिल्लो वर्ष सो अवधिमा ०.१ प्रतिशतले घटेको थियो ।

 

प्रतिकृया दिनुहोस्