RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/११ गते
१२३६ पटक

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताएका छन। नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उनको भनाइ छ ।

यहाँका नेपालीको अवस्था बुझ्न आएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताए । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आएको हो ।

रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिए।

कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गरे । कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उनले बताए ।

राजदूत हेलले रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्नाका तथा बालबालिकाका अवस्थाका बारेमा जानकारी लिए ।

सो अवसरमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री अकबाल शाहले राजदूतलाई कृष्णनगर क्षेत्रको अवलोकन गराई वस्तुस्थितिबारे जानकारी गराए। नेकपाको भ्रातृ सङ्गठन मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष सिराज फारुकीले नेपालीले कतारमा दुःख गरेकाले कतार सरकारले तिनको तलब बढाउनुपर्ने बताए । रासस

प्रतिकृया दिनुहोस्