RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
५३५ पटक

९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ । जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘प्रश्न सोधिने समूह विगतजस्तै हुन्छन्, भार मात्र घट्ने हो । तर, सबै कोर्स समेट्ने गरी प्रश्न सोधिने भएकाले विद्यार्थीले सबै युनिट पढ्नुपर्छ,’ उनले भने । मुख्य विषयका मोडेल प्रश्न तयार गरी १-२ दिनमा बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए ।

अघिल्ला वर्षमा ८० पूर्णांकको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ । विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको संख्या घट्नेछ । कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको हो ।

सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि सुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरिसकेको छ । ८ वैशाखदेखि सञ्चालन हुने तय भएको कक्षा–१२ को परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो । नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन् । विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा भने सम्बन्धित विद्यालयमै परीक्षा दिन जानुपर्नेछ । बोर्डले परीक्षाका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।

कुनै परीक्षार्थी यसबीचमा कोरोना संक्रमित भए या आइसोलेसनमा बसेको पाइए निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको छ । बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार कोभिड–१९ पजिटिभ रिपोर्ट विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्था मिलाइनेछ ।

परीक्षा हलमा विद्यार्थीलाई कम्तीमा दुई मिटर दूरीमा राख्ने व्यवस्था छ । पौडेलका अनुसार परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिलाइनेछ । जति ठूलो हल भए पनि हरेक २० भन्दा बढी विद्यार्थी राख्न पाइनेछैन । परीक्षा केन्द्रमा मास्कलगायत स्वास्थ्य सामग्री प्रयोगलाई अनिवार्य गरिएको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमध्ये एक सय ३८ वटामा १० भन्दा कम परीक्षार्थी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ५० भन्दा कम परीक्षार्थी रहेका केन्द्रको संख्या पनि धेरै छ ।नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्