RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१८ गते
६०६ पटक

वासिङटन : कोरोनाभाइरसको महामारीका बावजुद अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव भइरहेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।

ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार हुन् भने बाइडेन डेमोक्रेटका । साथै ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माइक पेन्स छन् भने बाइडेनको साथमा कमला ह्यारिस छिन् । पछिल्लो समय गरिएका विभिन्न सर्वेक्षणले बाइडेनलाई बलियो देखाए पनि ४५औँ राष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा को छिर्ला भन्ने जिज्ञासामा अनेक आंकलन र बहस भइरहेका छन् ।चुनावअघि दुबै उम्मेदवारले आफ्ना मुद्दा र अडानलाई भने छाडेनन् । उनीहरु जुन समुदाय र भावनालाई आफ्नो बैचारिक आधार मान्दैआएका थिए, त्यसमा केन्द्रित भए ।

जस्तो कि, ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दैआएका ट्रम्पविरुद्ध बाइडेनले ‘मेक अमेरिका काइन्ड अगेन’ को नारा दिए । अर्थात्, ट्रम्प अमेरिकालाई फेरि ‘महान’ बनाउन चाहन्छन् भने बाइडेन असल ।

ट्रम्पको महानता ‘अमेरिकन फस्र्ट’को राष्ट्रवादभित्र लुकेको छ । बाइडेन चाहिँ आप्रवासी समुदायको भावना कदर गर्नुपर्ने बताउँछन् । जुन बिचार ट्रम्पको बिचारको ठीक विपरीत छ ।
त्यसो त, ‘अमेरिकी महानता’ रुचाउने समुदायमा ट्रम्प लोकप्रिय छन् भने अस्वेत र आप्रवासी समुदायमा बाइडेन लोकप्रिय छन् ।

बाइडेनले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार नै भारतीय मूलकी महिला कमला ह्यारिसलाई बनाए । त्यसमाथि अरु दुई विशेष सल्लाहकार भारतीय मूलका छन् । यसले अमेरिकामा रहेको २० लाख भन्दा ठूलो भारतीय आप्रवासीहरुको समुदायबाट बाइडेनले धेरै भोट पाउने आंकलन गर्न सकिन्छ । यसवाहेक अस्वेत समुदायसँग बाइडेनको विशेष सम्बन्ध रहेको बताइन्छ । हालैको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘यदी तपाईँलाई म र ट्रम्पमा कसलाई छान्ने भन्ने कुराको अन्योल छ भने तपाईँ अस्वेत हैन ।’

यद्यपि बाइडेन अमेरिकी राजनीतिमा सक्रिय एक पुराना र अनुभवी राजनीतिज्ञ हुन् । जसले ४० वर्ष भन्दा धेरै यहाँको राजनीतिमा समय दिए । विदेश मामिला र कुटनीतिमा विशेष दख्खल राख्ने उनी आम सर्वसाधारणहरुसँग घुलमिल गर्ने नेताको रुपमा पनि चिनिन्छन् । साथै उनी आफ्नो भाषणबाटै मानिसलाई तरंगित पार्न सक्छन् । र बाइडेनको सवल पक्ष भनेको उनी स्वभाविक र व्यवहारिक छन् ।

ट्रम्पले चाहिँ मनमा लागेको कुरा नलुकाइकन भन्ने गरे पनि अहंकारी देखिन्छन् । महिला, अल्पसंख्यक, सिमान्तकृतहरुको विरोधी छवि बनाएका उनले कतिपय सन्दर्भमा त विरोधीहरुलाई व्यक्तिगत रुपमै गाली पनि गरेका छन् ।

यतिसम्म कि, गत वर्ष कमला ह्यारीस सहित केही अस्वेत महिला सांसदहरुलाई देशनिकालाको चेतावनी समेत दिएका थिए । ट्रम्पले धर्म, सम्प्रदाय, जाति, लिंग जस्ता संवेदनशील विषयमा धेरै पटक कट्टरपन्थी बिचार व्यक्त गर्दै विवाद सिर्जना गरिदिएका छन् ।

व्यापारबाट राजनीतिमा आएका उनी राजनीतिमा भने अपरिपक्व र गैरराजनीतिक चरित्र पनि देखाउने गर्छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले त उनीमाथि कठोर टिप्पणी गरेका छन् । हालै बाइडेनको समर्थनमा चुनावी अभियानमा रहेका बेला ओबामाले भनेका थिए, ‘ट्रम्प आफ्नो अहंकार जगाउन मात्रै केन्द्रित भए ।’

यस्तै ह्वाइट हाउसमा ट्रम्पले रियालिटी शो गरिरहेको समेत ओबामाको आरोप थियो । सिएनएनको रिपोर्ट अनुसार ट्रम्पले हजारौँ पटक झुट बोलिसकेका छन् । पछिल्लो समय कोरोनाभाइरस महामारीबारे पनि उनले पटक पटक झुट र भ्रम फैलाएको अमेरिकी मिडियाको रिपोर्ट छ ।

समग्रमा ट्रम्प आप्रवासनलाई समस्याको रुपमा लिने गर्छन् । त्यसैले पनि उनी आप्रवासीहरुप्रति कठोर र असहिष्णु देखिने गरेका छन् । यस पटकको चुनाव यदि ट्रम्पले जितेको खण्डमा २०१६ देखिका नीति लागु गर्नेछन् । बाइडेनले जिते भने चाहिँ आप्रवासीहरुका लागि तुलनात्मक रुपमा सहज परिस्थिति हुनसक्छ । यससँगै ७८ वर्षीय बाइडेनका लागि यो अन्तिम चुनाव पनि हो ।

दुबै नेताको समानता के भने उनीहरु दुबै ७० वर्ष काटिसकेका वृद्ध हुन् । ट्रम्प ७४ वर्षका भए भने बाइडेन ७८ वर्ष । साथै उनीहरु दुबैमाथि केही महिलाहरुले यौन दुर्व्यवहार गरेको आरोप पटक पटक लगाउँदैआएका छन् । ती आरोप पुष्टि भएका भने छैनन् ।

(एजेन्सीहरुको सहयोगमा) अन्नपुर्ण पोष्ट 

प्रतिकृया दिनुहोस्