RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२० गते
७४४ पटक

काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिका लागि मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा डेमोक्रेट उम्मेदवार एवं पूर्वउपराष्ट्रति जो बाइडेन विजय नजिक पुगेका छन् । बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् ।  वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

अब केही राज्यको मात्र परिणाम आउन बाँकी रहेको छ । जसमा बाइडन अगाडि छन् । महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् ।

उनले नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा जोड दिएका छन् । बाइडनले भने, ‘हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।’

यता राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतमा कानूनी चुनौती दिने बताएका छन् ।

तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ‘अपमानजनक’ भएको भन्दै मतगणना नरोकिने जनाएको छ।

ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।

अत्यन्तै झिनो प्रतिशतको मतान्तरमा राज्यहरुको मत परिणाम उलटपुलट भएका छन् । राष्ट्रपति ट्रम्प निकट मानिएको अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार नै पनि बाइडेनलाई जीतका लागि जम्मा ६ इलेक्टोरल मत आवश्यक परेको छ ।

तर बाइडेनले यो मत नेभादाबाट जोड्न सक्ने अनुमान गरिएको छ । यद्यपि, त्यहाँ पनि दुई उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ । केही हजार मतले मात्र अगाडि रहेका बाइडेनले झिनो संख्याले उक्त राज्यको ६ इलेक्टोरल मत आफ्नो पक्षमा पार्न सके उनको जीत सुनिश्चित देखिन्छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न कूल ५३८ इलेक्टोरल भोटमा २ सय ७० सिट जित्नुपर्नेछ । मतगणना जारी रहँदा अहिलेसम्म दुवै उम्मेदवारसँग २ सय ७० नजिकको आँकडा छैन । ट्रम्पसँग २१४ र बाइडेनसँग २४३ सिटमात्र रहेको छ ।

प्रतिकृया दिनुहोस्