RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२१ गते
५२७ पटक

दोलखा-लामो समय लकडाउन लम्बिँदा चीज उद्योगले किसानबाट दूध संकलननै बन्द गरेको छ । दुग्ध विकास संस्थाको चीज उत्पादन तथा बिक्रीवितरण केन्द्र चंखुले गत भदौदेखि किसानबाट दूध संकलन बन्द गरेको हो । लकडाउनका कारण चीजको बजार खस्केका कारण केन्द्रले चीज बनाउन प्रयोग हुने चौंरीको दूध संकलनमा रोकेको हो ।

केन्द्रले स्थानीय चौंरीपालक किसानहरूबाट दैनिक रूपमा ४ सय लिटरसम्म दूध संकलन गर्दै आएको थियो । चौंरीको दूध वैशाखदेखि कात्तिकसम्म केन्द्रले किसानबाट लिने गरे तापनि दुग्ध विकास संस्थानले चीज बजारमा बिक्री गर्न नसक्दा भदौदेखि नै चीज उत्पादन बन्द गरेको केन्द्र प्रमुख टीका गुरुङले बताए । गौरीशंकर गाउँपालिका वडा नं. ६ दोमाजेमा रहेको चंखु चीज उत्पादन केन्द्रले २०३९ सालदेखि चीज उत्पादन गर्दै आएको छ ।

केन्द्र प्रमुख गुरुङका अनुसार श्यामाको याले, मार्बु, लगायतको ठाउँमा समेत दूध संकलन गरी केन्द्रमा ल्याउने गरेको छ । संस्थानले दूध संकलन नगर्ने भएपछि किसानहरू भने आफैं छुर्पी उत्पादन गर्न लागेका छन् । दुग्ध विकास संस्थानले नै दूध संकलन नगर्नु भन्ने आदेश दिएको किसानबाट भदौ १५ गतेदेखि दूध संकलन बन्द गरिएको गुरुङले बताए ।

दूध संकलन बीचमै राकिदा याक चीज उत्पादन समेत घटेको छ । केन्द्रले यस वर्ष ७ हजार चीज उत्पादन गरेको छ । दूध संकलन बन्द नभएको भए १२ हजार किलो चीज उत्पादन गर्ने लक्ष्य थियो । यस वर्ष दूध पनि किसानबाट राम्रै संकलन भएको थियो । लकडाउन नभएको भए लक्ष्य प्राप्तिमा समस्या नभएको सहायक चीज मेकर ङयन्द्र खड्काले बताए ।

केन्द्रले चीज र नौनी उत्पादन गर्छ । चीज सोझै काठमाडौ जान्छ भने नौनी स्थानीय रूपमै बिक्री हुने गरेको छ । भूकम्पले केन्द्रको भण्डारण क्षमता पनि घटेको छ । भूकम्पअघि १२ हजार किलोग्राम भण्डारण क्षमता भए तापनि अहिले भवन भत्केकाले ७ हजार किलोग्राम मात्र भण्डारण गर्न सकिन्छ । यस वर्ष उत्पादित चीज आधा काठमाडौं पु¥याइसकिएको छ । एक केजी चीज उत्पादन गर्न १० लिटर दूध चाहिने उनले बताए ।

दुग्ध विकास संस्थान अन्तर्गत चीज उत्पादन तथा विक्रि वितरण आयोजनाको याक चीज उत्पादन केन्द्र जिरीमा २०२८ सालमा स्थापना भएको हो । त्यसपछि चंखुमा केन्द्र स्थापना भएको हो । उच्च हिमाली भेगमा पालिने चौंरीको दूधको प्रशोधन गरी उत्पादनका लागि यो उद्योग स्थापना भए पनि चौंरीपालन व्यवसाय खुम्चँदै गएपछि चीज उत्पादन पनि घट्दै गए छ ।

जुन ठाउँमा चौंरीपालन व्यवसाय हुन्छ त्यही ठाउँमा दूध संकलनका लागि शाखा स्थापना गरेर चीज उत्पादन गर्ने गरेको उनले बताए । शुद्ध चौंरीको दूधबाट बनाएको र उपयुक्त हावापानी मिलाएर बनाएकाले यहाँ उत्पादित चीज सबैभन्दा गुणस्तरको भएको केन्द्र प्रमुख गुरुङले दाबी गरे । यहाँको चीज जति पुरानो उत्ति राम्रो हुने उनले बताए ।

यो क्षेत्रमा डिम्जो र ओराङ जातको चौंरीपालन हुन्छ । डिम्जो जातको चौंरी ३ हजार मिटरभन्दा माथि पाल्न सकिन्छ भने ओराङ जातको चौंरी २ हजार ५ सयदेखि ३ हजार मिटरसम्म पाल्न सकिने चीज उत्पादन केन्द्रका जिरेलले बताए । डिम्जो जातको चौंरीले ओराङ जातको भन्दा दूध पनि बढी दिने बताए । याक चीजको नामले यहाँ उत्पादित चीज प्रख्यात छ ।

दुग्ध विकास संस्थानले दोलखाको जिरी र चंखु रामेछापको चुचुरेमा दूध संकलन तथा चीज उत्पादन केन्द्र स्थापना गरेर चीज तयार गर्ने गरेको छ । पछिल्लो समयमा सामुदायिक वनको विकासले चरण क्षेत्र घट्दै गएकाले चौंरीपालन व्यवसाय पनि घट्दै गउको छ । चौंरीपालन व्यवसायमा आधुनिकता नहुनु, नस्ल सुधार नहुनु, धेरै दुःख गर्नु पर्ने र युवाहरू विदेशीने क्रमले पनि यो व्यवसायमा लाग्नेहरू घट्दै गएको पुराना चौंरी किसान लाक्पा शेर्पाले बताए । कारोबार दैनिकबाट ………….

प्रतिकृया दिनुहोस्