RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२२ गते
१०२९ पटक

काठमाडौँ,  फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।

कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौँे । ”

अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पार्नुभयो । एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

एसोसिएसनले भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेको छ । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुने । एसोसिएसनले नेपालमा फूल र माला भित्रिने सिन्धुलीको झाँगाझोली, हेटौँडाको रातामाटा र नौबिसे नाकामा गस्ती गरेर भारतबाट आउने फूल नष्ट गर्ने अभियान थालेको छ ।

तिहार नजिकिएकाले शनिबारदेखि भारतबाट फूल आउन सक्ने भएकाले गस्तीलाई कडा पार्नेगरी तयारी भएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस अभियानअन्तर्गत अघिल्लो साता भैँसेपाटीबाट १० हजार सयपत्रीका माला जफत गरी नष्ट गरेको जनाएको छ ।

एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ । अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएको थियो यो वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको दाबी एसोसिएसनको छे ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्