RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२२ गते
७५६ पटक

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै फर्मबाट काम थालिएको ठाउँमा निर्माण कार्य अलपत्र परेको हो ।

नाग्म–गमगढी सडकको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरसम्म सांसद लामाको फर्मबाट काम थालिएको थियो । तर, ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नहुँदा स्थानीयले सास्ती खेपेका छन् ।

सडक डिभिजन जुम्लाका अनुसार १३ किलोमिटरमध्ये ६ किलोमिटर सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबिन, मेसिनरी टेवा पर्खालको काम अलपत्र परेको छ ।

कार्यालयका कामु डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले ठेक्काको तिहारअगावै काम सुरु नभएमा कालोसूचीका लागि पत्रिकामा नाम दिने चेतावनी दिइसकेको बताए । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड थोकर र हिरा एन्ड नमिता जेभीको ठेक्कामा पाँच वर्षअघि काम थालिएको थियो ।

नाग्म–गमगढी (सिञ्जा रारा) राजमार्गका बासिन्दासहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको टोलीले उक्त सडकको काममा ढिलाइ हुनुको कारण र चुनौतीका विषयमा सडक डिभिजनसँग जवाफ माग्दा सांसद लामाको फर्मबाट काम अलपत्र परेको खुल्न आएको थियो ।

कार्यालय प्रमुख भण्डारीले भने, ‘काम छिटो गर्न भनेका छौँ । कालोसूचीमा राख्ने भनेर भनिसकेपछि अब काम अघि बढाउने कुराको प्रतिबद्धता भएको छ ।’

सांसद लामासँग यस विषयमा बुझ्दा आफ्नो फर्म लिएर नन्दलाल श्रेष्ठले काम थालेको र अहिले उनीसँग सम्पर्क नभएको प्रतिक्रिया दिए ।

राजमार्गको ठेक्का सम्झौता ८ माघ ०७२ देखि ७ पुस ०७५ सम्म थियो । दोस्रोपटक १० साउन ०७६ मा सम्झौता भएर ३० जेठ ०७७ सम्मको अवधि थप भएको थियो । यो अवधिमा पनि कुनै काम अघि बढ्न सकेको छैन ।

१३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार एक सय ३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जानकारी दियो ।

ठेक्का नम्बर ३.१ – २०७४।०७५मा खड्का कृष्ण गाल्भा–दक्याराभान जेभीको राजुसिंह कठायत र तारासिंह कठायतले जिम्मा लिएको काम नाग्म–गमगढी राजमार्गको १७ देखि २५ सम्म ८ किलोमिटरको काम पनि सन्तोषजनक नभएको डिभिजनले जनाएको छ । सो सम्झौताको अवधि भने २१ वैशाख ०७८ सम्म रहेको छ ।

कार्यालयमा अघिल्लो आर्थिक वर्षमा ५० करोड बजेट आएको भए पनि लकडाउनका कारण १० करोडको काम मात्रै काम भएको र यस वर्ष घटेर नौ करोड ७० लाख मात्रै बजेट आएको आएको छ ।

अब बजेटको पनि समस्या रहेको सडक डिभिजन प्रमुख भण्डारीले बताए । अहिलेका सडकका काम पूरा गर्न २३ करोड ५० लाख आवश्यक भएकाले पहल भइरहेको छ ।

नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्णप्रसाद धितालले दिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानुनी दायरमा ल्याउने र बेथितिविरुद्ध जनता सडकमा आउने चेतावनी दिए । उनले सडक अलपत्र परेका कारण पर्यटकले सास्ती पाउने गरेको बताए । नयाँ पत्रिका दैनिकबाट ……

प्रतिकृया दिनुहोस्