RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२७ गते
५१० पटक

रुसले कोरोना भाइरसविरुद्ध बनाएको भ्याक्सिन (खोप) ९२ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ। ‘स्पुतनिक–भी’ नाम दिइएको उक्त खोप परीक्षणको अन्तरिम नतिजाले यस्तो सफलता देखाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले बुधबार जनाएको हो। कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धात्मक दौडमा आफूलाई अरु देशको समकक्षमा राख्न रुस तल्लीन छ।

खोपको तेस्रो चरण परीक्षणअन्तर्गत प्रारम्भिक नतिजा सार्वजनिक गर्नेमा रुस दोस्रो भएको छ। यसअघि सोमबार अमेरिकी औषधि निर्माता फाइजरले आफूले बनाएको खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो। फाइजरले जर्मन आौषधि निर्माता कम्पनी बायोएन टेकको सहकार्यमा खोप बनाइरहेको छ। विश्वमा १२ लाख मानिसको ज्यान लिइसकेको र अर्थतन्त्रलाई तहसनहस पारेको कोरोना महामारी रोक्ने खोप निर्माणमा विभिन्न कम्पनी लागेका छन्।

गत अगस्टमा कोभिड–१९ का लागि निर्माण गरिएको खोप दर्ता गरेर यस मामिलामा रुस पहिलो राष्ट्र बनेको थियो। तेस्रो चरणमा ठूलो संख्यामा गर्नुपर्ने मानवीय परीक्षण बाँकी हुदाँहुँदै पनि खोप दर्ता गरिएको थियो। ‘तथ्यांकका आधारमा हामी के भन्न सक्छौं भने यो खोप अत्यन्त प्रभावकारी छ,’ आरडिआइएफ प्रमुख किरिल डिमिट्रिभले भने। उनले खोप निर्माणमा प्राप्त यो सफलतालाई निर्माताहरुले भविष्यमा आफ्ना नातिनातिनीसँग सगौरव भन्ने विषय भएको पनि बताए।

अन्तरिम नतिजाअन्तर्गत खोपको पहिलो र दोस्रो डोज (मात्रा) लिएका १६ हजार मानिसमा उत्पन्न प्रतिक्रिया समावेश गरिएको थियो। रुसले यो परीक्षण आगामी ६ महिनासम्म जारी रहने बताएको छ। रुसको गामालेया इन्स्टिच्युटले बनाएको यो खोपको परीक्षणमा ४० हजारजनालाई सहभागी गरिनेछ। यो खोप लगाएका मानिसमा कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशतले कम रहने आरडिआइएफले जनाएको छ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले निर्माणाधीन खोप ५० प्रतिशतभन्दा बढी सफल हुनुपर्ने मापदण्ड तोकेको छ।

फाइजर र बायोएन टेकले खोप निर्माणमा मानिसको प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न मेसेन्जर आरएनए प्रविधि प्रयोग गरेका छन् भने २१ दिनको फरकमा दुई डोज (मात्रा) दिइने रुसी खोपले रुघाखोकीका लागि कारक मानिएका एडी–५ र एडी–२६ जस्ता एडेनोभाइरससँग सम्बन्धित विभिन्न कारक तŒवलाई निस्तेज पार्ने बताइएको छ।
(रोयटर्स)

प्रतिकृया दिनुहोस्