RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२८ गते
४९० पटक

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

मृतक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । मृतक मध्ये ८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने, एकजनाको बससंगै अड्किएकाले शुक्रबार दिउँसो निकालिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । तिहारको समयमा ठूलो दुर्घटना भएपछि बैतडीबासी शोकमग्न भएका छन् । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भईनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्