RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२८ गते
८०४ पटक

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ । प्रचण्ड र नेपालसहित सचिवालयका पाँच शीर्ष नेताको लिखित अनुरोध र दुईपटकको अनौपचारिक बैठकको दबाबपछि प्रधानमन्त्रीको समझदारीमा बैठक बोलाइएको हो ।

बैठकमा प्रस्तुत हुने एजेन्डाबारे दुई अध्यक्षबीच सहमति नभएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै आन्तरिक रणनीति बनाएका छन् । बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा निकट नेताहरूसँग बिहीबार बेग्लाबेग्लै परामर्श गरेका छन् ।

प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उनको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गरेका छन् ।

‘हामीले विधि र निर्णयका आधारमा पार्टी र सरकार सञ्चालन नगर्दा पार्टी संकटग्रस्त भएको कुरा राखिसकेका छौँ । पार्टी र सरकारलाई विचार, नीति र सिद्धान्तका आधारमा चलाउनुपर्छ भन्दै आयौँ, तर कार्यान्वयन भएन,’ प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यले भने, ‘त्यसैले बैठकमा बहसले त राम्रै प्रवेश पाउनेछ । पहिलो बैठकमै राजीनामासम्मको विषय नउठ्ला, तर हामी त्यसमा थप सल्लाह र परामर्श गरेर अघि बढ्नेछौँ ।’

उता, प्रधानमन्त्री ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले प्रचण्ड र नेपाल समूहका नेताहरूले उठाउने विषयको प्रतिरक्षा र उपाध्यक्ष गौतमको सम्भावित भूमिकाबारे समेत परामर्श गरेका छन् । गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेकाले सचिवालयमा उनको भूमिका विवाद समाधानमा कम्तीमा तटस्थ रहने र अन्ततः सरकारलाई नै सहयोग गर्ने प्रधानमन्त्री ओलीको आकलन छ ।

सर्वोच्च अदालतले राष्ट्रिय सभा सांसद र सरकारमा रहेर मन्त्रीका रूपमा काम गर्न पाउने गरी बाटो खुला गरेलगत्तै प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बधाई दिएका थिए । स्थायी कमिटीमा विवाद चर्किएका वेला समाधानका लागि ६ बुँदे रोडम्याप राखेर पार्टी एकता बचाउने भूमिका खेलेकाले पनि गौतमले अन्तर्विरोध मत्थर बनाउने काममै भूमिका खेल्ने ओलीसहित उनीनिकट नेताहरूले अपेक्षा गरेका छन् ।

बैठक बोलाउने विषयमै ओली र प्रचण्डबीच दुई सातादेखि मतान्तर रहेका कारण सचिवालयमा छलफल हुने एजेन्डा भने निश्चित भइसकेको छैन । प्रचण्डले अन्तर्विरोधका सबै विषय कमिटीले नै एजेन्डा बनाएर छलफल गर्ने भन्दै सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए भने प्रधानमन्त्री ओलीले विधानअनुसार दुई अध्यक्षले प्रस्तुत गर्ने एजेन्डामाथि गृहकार्य गरेर सहमति गरेपछि मात्रै बैठक बोलाउने अडान राख्दै आएका थिए ।

प्रवक्ता श्रेष्ठले आफूसहित पाँच शीर्ष नेताले राख्दै आएको विषयवस्तुलाई नै आधार मानेर बैठकमा मूलतः दुई विषयलाई एजेन्डा बनाएर सचिवालयमा छलफल हुन सक्ने बताए । ‘एजेन्डा के हुने विषयमा बैठकमै छलफल हुन्छ । एजेन्डा नभई बैठकमा छलफल हुने कुरा भएन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले एजेन्डा राखिसकेका छौँ । मुख्यतः दुई एजेन्डा प्रस्टै छन्, एउटा कोभिड– १९ ले पैदा गरेको स्वास्थ्य र आर्थिक संकट, अर्को पार्टी संकट र यसको निवारण । सम्भवतः यिनै विषयवस्तुमा बैठकमा छलफल हुनेछ ।’

नयाँ पत्रिका दैनिकबाट………

प्रतिकृया दिनुहोस्