RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२८ गते
५०० पटक

पोखरा –नेपाल आयल निगमले दुई दशकपछि इन्धन भन्डारणको काम गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु गरेको छ । ९० दिनलाई पुग्ने इन्धन भण्डारण क्षमता बढाउने सरकारको नीति तथा योजनाअनुरुप पहिलो पटक पोखरामा निगमले भण्डारण गृह निर्माण कार्य सुरु गरेको हो ।

एसियाली विकास बैंकको सहयोगमा २०५८ सालमा बनेयता स्तरोन्नति हुन नसकेको यस डिपो अब भने अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोेलियम भण्डारण गृह बन्ने निगमको भनाई छ । २०५८ सालदेखि सरकारले इन्धन भण्डार क्षमता बढाउने योजना बनाए पनि २०७२ सालको नाकाबन्दीपछि सिर्जना भएको इन्धन अभावको

चरम समस्याले यसमा दबाब थपिएको थियो । इन्धन भण्डारण क्षेत्र निर्माणको क्रममा जग्गा प्राप्तिका लागि लामो समय विवाद देखिए पनि १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह बनाउने काम बिहीबारदेखि पोखरामा सुरु भएको हो ।

इन्धनको आपूर्ति व्यवस्था सहज बनाउनका लागि निगमले पोखरास्थित गण्डकी प्रदेशको कार्यालय परिसरमा रहेको ७७ रोपनी जग्गामा ७७ करोड लागतमा नयाँ भण्डारणको निर्माण काम सुरु गरेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

“पोखराबाट भन्डारण क्षमता बढाउनका लागि निर्माण कार्य सुरु भएको छ, अब क्रमशः अन्य क्षेत्रहरुमा पनि विस्तार गरिनेछ,” उनले भने, “दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यसबाट गण्डकी प्रदेशको इन्धन आपूर्तिमा सहज हुनेछ ।” निगमले चितवन, झापा, भैरहवा र जनकपुर क्षेत्रमा समेत भण्डारण क्षमता वृद्धि गर्न लागेको छ । पोखरा डिपोबाट कास्की, तनहँु, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति हुँदै आएको छ ।

निगमका अनुसार हाल पोखराममा तीन दिनलाई माग धान्ने पेट्रोल र डिजेल ११ दिनलाई माग धान्ने क्षमता रहेको छ । निमगले जर्मन प्रविधिमा १० हजार किलोलिटरको क्षमताको भण्डारण बढाउँदा यसले ४० देखि ४५ दिनको माग धान्ने जनाएको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ ।

प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ । एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र एक लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । निगमका अनुसार परियोजनाअन्तर्गत हालको डिपो हातामा ५० लाख लिटर क्षमताका दुईवटा ठूला डिजेल भण्डारण ट्याङ्क बन्नेछन् । एक नयाँ पहुँच सडक, २ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, डिपोकोे चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि पनि नयाँ संरचना निर्माण गरिनेछ ।

इन्धन भण्डारण ट्यांक र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्ण अटोमेटेड हुनेछन् । डिजेल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमले जनाएको छ । डिपोको भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीको कार्य पनि यही परियोजनाकै सिलसिलामा हुनेछ ।

नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्याकंरले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । ट्याङ्कर अनलोडका लागि प्रतिघण्टा १ सय २० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिनेछ । अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो ।

दुई वर्षभित्र निर्माणको काम सक्नेगरी आयोजना निर्माणको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभी कम्पनीले र पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान परियोजनाले एक वर्षभित्र सक्ने बताएका छन् । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्