RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/२९ गते
५३० पटक

पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक सय ७५ सवारी दुर्घटना भएका छन् ।

जसमा ६२ जनाले ज्यान गुमाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर मोहनबहादुर साउदका अनुसार आव ०७६÷७७ भएका दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाको ज्यान गएको छ भने दुई सय ५४ गम्भीर घाइते भएका छन् । त्यस्तै, आव ०७५/७६ मा दुई सय ३४ दुर्घटना भएका छन् ।

जसमा दुई सय २३ जनाको मृत्यु भएको छ भने एक सय ८७ गम्भीर घाइते भएका थिए । आव ०७४/७५ प्रदेशभर भएका एक सय ६४ दुर्घटनामा एक सय ६६ को ज्यान जानुका साथै एक सय ३३ गम्भीर घाइते भएका थिए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने, यान्त्रिक गडबडी, सडकको दुरावस्थालगायत कारणले पहाडी जिल्लामा बढी दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए । ‘पहाडी जिल्लामा सडक साँघुरा छन् । कतिपय ठाउँमा एक लेनको सडक छ । विपरीत दिशाबाट आइरहेका दुई गाडीको मोडहरूमा जम्काभेट हुँदा पनि दुर्घटना हुने गरेको पाइन्छ,’ उनले भने ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको पवनदूत यातायातको बस बिहीबार राति बैतडीको खोडपे बजारनजिकै दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । ३४ घाइते भएका छन् ।

राति करिब साढे दश बजे ना.५ख ५१४१ नम्बरको बस खोडपे बजार पुग्नुभन्दा एक किलोमिटर वरै पाटन नगरपालिका– ८ मा सडकबाट तल खसेको थियो । आठ यात्रुको घटनास्थलमै र एकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेमा बैतडीका तीन तथा दार्चुला, कैलाली र कञ्चनपुरका दुई–दुईजना रहेका छन् ।

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका– ६ का रणबहादुर चन्द, कविन्द्र जोशी र करनसिंह ऐडी रहेका छन् । चन्द नेपाल प्रहरी र जोशी दोगडाकेदार गाउँपालिकाका कर्मचारी हुन् । त्यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका– ५ डाँडाकोटका जगन्नाथ ओझा र लेकम गाउँपालिका खरकडाका तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की र वडा नम्बर १० की विजनादेवी धामी तथा कैलालीको धनगढी उपमहानगरपालिका– १४ आदर्शटोलका ऋषिराम चौधरी र सोही वडाको फूलबारी घर भएका नरेन्द्र चौधरीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

घाइते हुनेमा कञ्चनपुर घर भएका १०, बैतडीका आठ, दार्चुला र कैलालीका ६–६, काठमाडौंका तीन र अछामका एकजना रहेका छन् । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ, बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए ।

चालकले मोडमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चालक घाइते भएर उपचाररत रहेकाले दुर्घटना हुनुको विस्तृत कारण अझै थाहा नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी सिगास गाउँपालिका–२ की जानकी सिंहका अनुसार दार्चुलाको गन्नाबाट दिउँसो १२ बजे हिँडेको बस पाटनबाट उकालो लाग्दा नै वेलावेला झ्याप्पझ्याप्प रोकिएजस्तो भइरहेको थियो । ‘पाटनबाट उकालो चढ्दा नै बस वेलावेला रोकिएजस्तो भइरहेको थियो, खोडपे पुग्नै लाग्दा खोडपे १ किलोमिटर लेखिएको माइल स्टोनलाई ठोक्दै बस सडकबाट तल खस्यो । हावामा उडेजस्तो भयो,’ उनले भनिन्, ‘गाडी तल बजारिएपछि सबैको रुवावासी सुरु भयो, म गाडीबाट कसरी बाहिर निस्के थाहै छैन ।’

दुर्घटनाको लगत्तै खोडपे बजारका स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको जानकीले बताइन् । ‘बचाउ बचाउको आवाजसँगै छोरी रोएको पनि सुनेपछि बाँच्यौँ भन्ने महसुस भयो । त्यसपछि छोरीलाई काखमा च्यापेर बसेकी थिएँ, केहीबेरमा बजारका मान्छे र प्रहरी आएर उद्धार गरे,’ जानकीले भनिन् । उनीसँग दुई वर्षकी छोरी पनि थिइन् । जानकीको पाखुरामा र छोरीको टाउकोमा सामान्य चोट लागेको छ ।

प्रतिकृया दिनुहोस्