RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/४ गते
५५६ पटक

पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा नेपाली जडिबुटीको निर्यात बढेको छ । नेपाल जडिबुटी उत्पादक संघका अनुसार अघिल्लो वर्ष वैशाखदेखि कात्तिकसम्म करिब ८१ करोड मूल्य बराबरको जडिबुटी निर्यात भएकामो यस वर्षको सोही अवधिमा १ अर्व १३ करोड निर्यात भइसकेको छ । अझै निर्यात बढेर डेढ अर्ब मूल्य बराबरको जडिबुटी निर्यात पुग्ने व्यवसायीहरूको भनाइ छ ।

संघका अनुसार कोरोना भाइरसका कारण बन्द रहेको अन्तर्राष्ट्रिय विमान उडानमा रोक लगाएपछि वैशाख र जेठमा स्टक रहेको जडिबुटी भदौपछि भने निर्यात भएको थियो । अब संकलन हुने जडिबुटी भने माघ÷फागुनपछि मात्रै निर्यात हुने छ ।

व्यवसायीका अनुसार पछिल्लो समयमा युरोप, चीन, भारतलगायत मुलुकहरूमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको छ । औषधि बनाउनका लागि कच्चा पदार्थको रूपमा जडिबुटी विदेश निकासा भइरहेको जडिबुटीको माग बढे पनि सोहीअनुसार उत्पादन बढ्न सकेको छैन ।

संघका अध्यक्ष गोविन्द घिमिरेका अनुसार कोभिडपछि झन् सुगन्धित तेलको बढी माग भएको र मागअनुसार निर्यात हुन सकेको छैन । “सुगन्धित तेल ५ हजारदेखि ८० हजारसम्म प्रतिकेजीमा बिक्री हुन्छ । सबैभन्दा बढी जटामसीको तेल ८० हजारसम्ममा बिक्री हुन्छ, सुगन्धित तेल ९ टन उत्पादन भएको थियो, माग बढिरहेको छ, उत्पादन कम छ,” उनले भने, “कोभिडका कारण झनै स्वदेशी जडिबुटीको माग बढेको छ, मागअनुसार उत्पादन बढाउन सके राज्यको अर्थतन्त्र उकास्न धेरै सहयोग पुग्ने छ ।”

कर्णालीस्थित हुम्ला जुम्लाको हिमाली भेगमा जटामसीको उत्पादन बढी हुने गर्छ भने जटामसीको बजार मूल्य बढ्दै गइरहेको छ । घिमिरेका अनुसार लेमन ग्रास, घाँसे बनस्पतिको तेल ५ हजारसम्ममा बिक्री हुने गर्छ । रिट्टा टिमुर, तेजपातजस्ता जडिबुटी कच्चा पदार्थको रूपमा भारतमा बढी जाने गरेको छ ।

पछिल्लो समय टिमुरको माग तेस्रो मुलुकहरूमा पनि बढिरहेको तथ्यांकले देखाउँछ । “वनले लिजमा जग्गा दिए जडिबुटी खेती गर्न सजिलो हुने थियो, जडिबुटीमा लगाइएको झन्झटलो प्रावधान हटाउन जरुरी छ,” उनले थपे, “अझै निर्यात बढ्न सक्छ, उत्पादन बढाउने सकारले नीति लिनु जरुरी छ ।”

विशेषगरी नेपालको हिमाली क्षेत्रमा बहुमूल्य किसिमको जडिबुटी उत्पादन हुँदै आएको छ । जडिबुटी उत्पादन बढाउन सके राज्यले नै प्रशस्त रूपमा आर्थिक लाभ लिन सकिने जडिबुटी विज्ञहरू बताउँछन् । जडिबुटी व्यवसायीहरूले भने सरकारले नै जडिबुटी प्रवद्र्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न नसकिएको दाबी गरिरहेका छन् ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जडिबुटी खेती बिस्तार गरेर उत्पादन बढाउने सरकाररी नीति रहेको बताए । “पछिल्लो समय जडिबुटीको निर्यात बढिरहेको छ, उत्पादन बढाएर जडिबुटीको निर्यात बढाउने लक्ष्य लिएका छौ,” उनले भने, “जडिबुटी

विकास कार्यक्रमअन्तर्गत पकेट क्षेत्र छनोट गर्ने र जडिबुटी खेती प्रवद्र्धन गर्ने काम भइरहेको छ, स्थानीयसँग मिलेर जडिबुटी विकासको कार्यक्रम लागू भएको छ, राम्रो परिणम पनि निस्किरहेको छ । अर्को वर्षको कार्यक्रममा किसानको संलग्न बढाएर जडिबुटी उत्पादन पनि बढाउने लक्ष्य छ ।”कारोबार दैनिकबाट ………………..

प्रतिकृया दिनुहोस्