RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/४ गते
४१८ पटक

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहितका पदमा सहमतिको सम्भावना न्यून हुँदै गएको एक पूर्वअध्यक्षले बताएका छन् । सहमतिका लागि गृहकार्य गरिरहेका पूर्वअध्यक्षहरूले तत्काल कुनै पनि छलफल तथा बैठक बोलाएका छैनन् ।

दुवै उम्मेदवारले पछि हट्ने संकेत नदेखाएपछि अब निर्वाचनकै सम्भावना बढेको पूर्वअध्यक्षहरूका तर्फबाट सहमतिका लागि पहलकदमीको जिम्मेवारी पाएका रविभक्त श्रेष्ठको भनाइ छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वतः अध्यक्ष हुने व्यवस्थापछि सोही पदलाई मुख्य मानी निर्वाचन हुने गरेको छ । यही मंसिर ११–१३ मा निर्वाचन हुँदै छ । ‘अहिलेको स्वास्थ्य संकटको कठिन समयमा निर्वाचन नगरौं । महासंघमा एकताको सन्देश दिऊँ भनेर पूर्वअध्यक्षहरूले पहल गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘मैले दुवै जना उम्मेदवारसँग एउटा अनलाइन र अर्कोपटक भेटेरै छलफल गरें ।’ पछिल्लो समय छुट्टाछुट्टै भेटेर दुवै उम्मेदवारलाई अनुरोध पनि गरेको उनले जानकारी दिए । उम्मेदवारी फिर्ता गरी सहमति जनाउने व्यक्तिलाई विशिष्ट वा मानार्थ सदस्य र आगामी कार्यकालको वरिष्ठ उपाध्यक्ष बनाउने सम्झौता नै गरिदिने प्रस्ताव उनले गरेका थिए । ‘सुरुमा चन्द्र ढकाललाई बोलाएर निजी क्षेत्रको एकतालाई माथि राखेर निर्णय गर्नुस्, सहमतिका लागि योगदान गर्नुस् भनेको थिएँ,’ श्रेष्ठले भने, ‘उहाँले म धेरै अघि बढिसकें । म बलियो छु । जसरी पनि जित्छु भन्नुभयो ।’

त्यसपछि प्रधानलाई बोलाएर उनले त्यस्तै अनुरोध गरे । ‘अघिल्लो पटक पराजय भोगिसक्नुभएको मान्छे, फेरि पनि पराजय भोग्नुभयो भने महासंघको नेतृत्वमा आउन बाटो नै बन्द हुन्छ । बरु विशिष्ट सदस्य वा मानार्थ सदस्य बस्नुस् भनेको थिएँ,’ श्रेष्ठले भने, ‘उहाँले पनि म जित्छु भन्नुभयो ।’ अघिल्लो पटक शेखर गोल्छासित वरिष्ठ उपाध्यक्ष पदमा प्रधानले प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पराजय भोगिसकेका उनी जिल्ला/नगरतर्फको खाली भएको उपाध्यक्ष पदमा उम्मेदवारी दिई निर्वाचित भएका हुन् । ‘पूर्वअध्यक्षहरूले विचार गरेर सही र उपयुक्त निर्णय गरेको खण्डमा छलफल गरौंला पनि भन्नुभएको छ,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘त्यसो भने पनि उम्मेदवारी फिर्ता नगर्ने, आफू जित्छु भन्नुभएको हुनाले अब सहमतिको सम्भावना कम हुँदै गएको छ ।’

पूर्वअध्यक्षहरू निर्णय गरेर दबाब दिने पक्षमा नरहेको उनले बताए । ‘सल्लाह, सुझाव र परमर्श दिने हो हामीले,’ श्रेष्ठले भने, ‘हाम्रो चाहना दुवै जना पालैपालो अध्यक्ष हुनुहोस् भन्ने हो । तर निर्वाचन भयो भने एक जनाले त हार्नु हुन्छ । यस्तो समयमा एकताको सन्देश दिए हुने ।’

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्