RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/५ गते
६२९ पटक

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् ।
सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि)का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।
नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनामा कार्यरत अधिकृत र तल्लो तहका सुरक्षाकर्मीलाई स्थानान्तरण गरी २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन गरिएकामा माथिल्लो तहमा यही मंसिर अन्तिम सातादेखि नेपाली सेनाबाट आएकाको संख्या एक मात्र हुनेछ ।

नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो ।
नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् । बस्नेत र श्रेष्ठले आईजीपी बनेर हाँकेको सशस्त्रको माथिल्लो निकायमा अब नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम मात्रै हुनेछन् । नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत गौतम मात्र अब सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहनेछन् ।

३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका उनी हालको ३० बर्से सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् । गौतम ६ कात्तिक २०७५ मा राजु अर्याल र नारायणदत्त पौडेलसँगै डीआईजीमा बढुवा भएका थिए । अर्याल र पौडेल भने १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई हाल डीआईजी पदमा कार्यरत नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् ।

अवकाशको मिति नजिकिदै जाँदा पनि ब्रम्हाचार्य, बुढाथोकी, बस्नेत र अधिकारीले बाहिनीको नेतृत्व गरिरहेका छन् । जबकि, अनिवार्य अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने चलन छ । तर यी चार जना डीआईजी बाहिनीपतिकै रूपमा कार्यरत रहँदा धेरैले अनौठो मानेका छन् । यसअघि अवकाशको मुखमा पुगेका बाहिनीपतिलाई प्रधान कार्यालय बोलाएर अन्य डीआईजीलाई बाहिनीपतिको जिम्मेवारी दिइन्थ्यो ।
यी डीआईजीहरूकै ब्याची एसएसपी राजेन्द्र शाक्यले पनि २७ मंसिरमै अनिवार्य अवकाश पाउँदै छन् ।
यस्तै, नेपाल प्रहरीबाट आएका एआईजी नारायणबाबु थापाले पुस मसान्तदेखि अनिवार्य अवकाश पाउने भएका छन् । उनले अवकाश पाएपछि सशस्त्रमा एआईजीको दरबन्दी दुई मात्रै रहने छ ।

नेपाल प्रहरीमा थापाका असईका ब्याचीहरू हाल एसएसपीमा कार्यरत प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री र प्रकाश श्रेष्ठले पनि पुस मसान्तका दिन अवकाश पाउँदै छन् । पोखरास्थित लामापाटन तालिम केन्द्रमा कार्यरत रहँदै कार्यालयभित्रै महिला बलात्कारको आरोप खेपेका राजेन्द्रकुमार अधिकारीले पनि त्यसै दिन अवकाश पाउँदै छन् । बलात्कारको आरोपलगत्तै अधिकारीलाई पदबाट निलम्बन गरिएको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

यस्तै एसपीहरू प्रेमध्वज शाही, गाहारधन राई, सोमबहादर गुरुङ, राजु पाण्डे, समरबहादुर श्रेष्ठ, खेमबहादुर थापा, तुलसीराम दाहाल, रोशन श्रेष्ठ, नारायण श्रेष्ठ, वसन्तकुमार बोगटी र शरद न्यौपानेले पनि पुस मसान्तमा अनिवार्य अवकाश पाउने भएका छन् ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्