RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/७ गते
९०१ पटक

काठमाडौँ — ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) ले ईच्छा देखाएको भए पनि समयमै डीपीआर नसकिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोजनाबारे मन्त्रालयमा भएको छलफलमा शनिबार मन्त्री पुनले आयोजनाको डीपीआर तत्काल सक्न निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्न निर्देशन दिएका हुन् ।

एमडब्लुएच कन्सलटेन्टले डीपीआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । जापानी सहयोग नियोग (जाइका) ले आयोजनामा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गरे । छलफलमा कम्पनीका अध्यक्ष पन्तले परामर्शदाता कम्पनीसँग समन्वग गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी गराए ।

जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत्‌गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल हुनेछ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण गरी आयोजना निर्माण गर्ने तयारी छ ।

आयोजनाको बाँधस्थलदेखि विद्युत्‌ गृहसम्मको पहुँचमार्ग निर्माण यसअघि नै सकिएको छ । यस्तै, कूल ४ हजार ६ सय ५ रोपनी जमिनका लागि वितरण गरिनुपर्ने २ अर्ब ७६ करोडमध्ये २ अर्ब ५० करोड मुआब्जा वितरण सकिएको मन्त्रालयले जनाएको छ । ठूलो भेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि १ सय ४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।कान्तिपुर दैनिकबाट …………..

 

प्रतिकृया दिनुहोस्