RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१२ गते
५८६ पटक

चार वर्ष चार महिना लगाएर नेप्सेले पुरानो उचाइतोडेर नयाँ कीर्तिमान बनाएको छ । बिहीबार १८ दशमलव ४३ अंक बढेर नेप्से १ हजार ८ सय ९३ बिन्दुमा पुगेको छ । यसअघि १२ साउन ०७३ मा नेप्से १ हजार ८ सय ८१ अंकको उच्च बिन्दु छोएर ओर्लिएको थियो ।

बजारको दृश्य निर्धारित लक्ष्य मानिने पुरानो उचाइ पार गरिरहँदा नेप्सेमा अन्य रेकर्डहरू पनि बनेका छन् । बिहीबार बजारमा हालसम्मकै उच्च संख्यामा सेयर किनबेच मात्रै भएको छैन, कारोबार रकम पनि एकै दिन ७ अर्ब ६१ करोड पुगेको छ । यसै साताको आइतबार बजारमा यसअघिसम्मकै उच्च ६ अर्ब ९० करोडको कारोबार भएको थियो ।

पछिल्लो समय सेयर बजार सकारात्मक हुनुमा विविध कारण रहेको सेयर विश्लेषक, लगानीकर्ता र अर्थ क्षेत्रका जानकारहरू बताउँछन् । अर्थतन्त्र सुधारोन्मुख भए पनि हाल सेयर बजार बढ्नुको मुख्य कारण बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य पुँजी, अनलाइन प्रणालीमा सर्वसाधारणको पहुँच र निक्षेपको ब्याजदरमा कमी आउनु नै हो ।

कोभिडका कारण केही समय निराश भएका लगानीकर्ताले पनि भविष्य राम्रो हुने आसमा लगानी बढाइरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘मुलुकको अर्थतन्त्र अहिले राम्रो छैन, तर यो कोभिडको समस्या त लगभग पार गर्न लाग्यौँ, त्यसैले भविष्यमा राम्रो होला भन्ने मनोविज्ञानमा लगानीकर्ता देखिएकाले पनि बजार बढ्न सहयोग पुगेको हो ।’

२० कात्तिक ०७५ बाट अनलाइन कारोबार सुरु भए पनि कोभिडको प्रभावले गत चैतबाट केही महिना बजार बन्द भएको थियो । तर, बजार खुलेसँगै अनलाइन कारोबार गर्नेहरूको संख्यामा वृद्धि भएको थियो । हाल १ लाख ८५ हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएको नेप्सेले जनाएको छ ।

नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २३ हजार ५० लगानीकर्ताले बिहीबार कारोबार गरेकामा ८७ प्रतिशत कारोबार अनलाइनबाट भएको थियो । बैंकहरूले अन्य क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्दा सेयर कर्जालाई प्राथमिकता दिन थालेका छन् । कोभिडका कारण अन्य व्यवसाय पहिलेजस्तै सञ्चालन हुन नसकिरहेको समयमा सेयर कर्जा वृद्धि भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा १ खर्ब ६४ अर्ब अधिक तरलता रहेको छ । हालै राष्ट्र बैंकले २२ अर्ब तरलता खिचेको छ । कोभिडका कारण अन्य कर्जा स्वीकृत गर्न जग्गा हेर्न जानुभन्दा डिम्याटका रूपमा रहेको सेयर धितो राखेर कर्जा प्रवाह गर्न सजिलो भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

गत असारदेखि असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा ४ दशमलव ५ प्रतिशतले बढेर ३४ खर्ब ३४ अर्ब पुगेकोमा सेयर धितोमा कर्जा भने १८ प्रतिशतले बढेर ५९ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकले ओभरड्राफ्टबाट समेत कर्जा लिएर सेयरमा लगानी गर्न थालेका छन् ।

असारदेखि असोजसम्ममा यस्तो कर्जा १९ अर्ब रुपैयाँले वृद्धि भएर ५ खर्ब ७ अर्ब पुगेको छ । ‘अहिले उद्योग–व्यवसायमा अपेक्षा गरेअनुसार लगानी बढेको छैन,’ थापा भन्छन्, ‘यहाँ मात्र होइन, संसारभर नै लगानी अभाव हुँदा सेयर बजारमा मानिसहरू पैसा लगाइरहेका छन्, यो मौका छोप्दै सेयरमा लगानी गर्ने खेलाडीको संख्या बढेको छ ।’

रोजगारी सुनिश्चित भएकाहरूलाई हाल मुलुकमा समस्या नभएकाले पनि सेयर बजारमा यस्ता वर्गका मानिसहरू बढेको थापाको विश्लेषण छ । अहिले मुलुकमा बढी प्रभावित तल्लो वर्गका मानिसहरू रोजगारीका लागि भारत गइरहेकाले सरकारको दायित्व कम भएको र अर्थतन्त्रमा ठूलो समस्यासमेत नदेखिने सम्भावना बढेको थापाको तर्क छ ।

सरकारले अहिले ५० अर्ब पुनर्कर्जा अर्थतन्त्रमा पठाउन लागेकाले पनि अर्थतन्त्रमा पुँजी पर्याप्तता बढाउने देखिन्छ । पछिल्लो समय मुलुकको शोधनान्तर बचत बढेको, विदेशी मुद्राको विनिमय बढेकाले पनि मानिसको मनोबल उच्च बनाएको छ । ‘हाम्रो अर्थतन्त्रको वृद्धि यसअघि पनि उच्च होइन, त्यसैले अर्थतन्त्र नकारात्मक भएन र केही कमी भयो भने पनि यसबारेमा लगानीकर्ताले चिन्ता गर्नुपर्ने अवस्था देखिँदैन,’ सेयर विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्याल बताउँछन् । बजार नयाँ उचाइमा पुग्दै गर्दा आगामी दिशा के हुन्छ भनेर स्पष्ट किटान गर्न भने सकिन्न ।

विश्लेषक बस्याल लगानीकर्ताको मनोविज्ञान नाप्न प्रयोग गरिने प्राविधिक विश्लेषणले भने नेप्सेले २ हजार २ सयसम्म पुग्न सक्ने र केही वर्ष बुलिस प्रवृत्ति रहने बताउँछन् । ‘इलियट वेभ थ्यौरीले बजारको आगामी लक्ष्य २ हजार २ सयसम्म देखाइरहेको छ,’ बस्यालको विश्लेषण छ, ‘तर, बजारमा अहिले प्रवेश गर्ने ले जति प्रतिफलको आस गरेको हुन्छ, त्यति नै नोक्सान व्यहोर्न सक्छु भन्ने सोचमा प्रवेश गर्नुपर्छ ।’

बढ्यो बजारमा जोखिम
बजार उच्च हुँदा नयाँ लगानीकर्तासमेतआकर्षित हुने भएकाले जथाभावी लगानीगर्ने प्रवृत्तिले भने जोखिम निम्त्याउने बजार विश्लेषकहरू बताउँछन् ।‘अहिले केही कम्पनीमाकर्नरिङ गर्ने परिपाटी पनि बढेको छ,’ विश्लेषकप्रकाश तिवारी भन्छन्, ‘यिनमा धेरै साना कम्पनी भएपनि केही ठूला कम्पनी छन्, जसले बजार वृद्धिमा सहयोग पुग्छ ।’

वित्तीय विवरण प्रकाशित नगरेका, साधारणसभानगरेका विशाल बजारजस्ता कम्पनीहरूको मूल्यमा भएको वृद्धिले समग्र बजारलाई असर नगरे पनिकेही राम्रा कम्पनीमा भएको कर्नरिङले भने असरपुगेको विश्लेषकहरू बताउँछन् । ‘शिवम् सिमेन्ट, नेपाल टेलिकम रजलविद्युत् लगानी तथा विकास कम्पनी(एचआइडिसिएल)हरूमा पनि केही खेल भएको देखिन्छ,’ बस्यालले भने, ‘टेलिकमको मूल्य अब धेरै बढ्नुपर्ने कारण छैन, शिवम् र एचआइडिसिएलकोभविष्यसमेत हेर्दा मूल्य अचाक्ली अधिमूल्यन भने भएको छैन ।’

जलविद्युत् समूहका कम्पनीहरूमा, केहीजीवन र निर्जीवन बिमा कम्पनीहरूमा भने मूल्य अधिमूल्यन हुन थालेको उनीहरूको विश्लेषण छ ।भविष्यको आम्दानी र हालको वित्तीय अवस्था हेरेरै मात्र लगानी गर्न उनीहरू सुझाउँछन् ।

नयाँ पत्रिका दैनिकबाट……………………………………….

प्रतिकृया दिनुहोस्