RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१७ गते
४५८ पटक

कोभिड–१९ का कारण रोकिएको नेपाल–भारत व्यावसायिक हवाई उडान खुला हुने भएको छ । आवश्यक तयारी गरेर दुई साताभित्र दुई देशबीच व्यावसायिक उडान खुला गर्ने तयारी भएको हो । यद्यपि, कहिले खुल्ने भन्ने मिति भने तोकिएको छैन । मन्त्रिपरिषद्ले भने उडान खुला गर्ने निर्णय गरिसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ बाट लकडाउन गर्ने भएसँगै नेपाल प्रवेश गर्ने सबै व्यावसायिक उडानमा चैत ९ मा रोक लगाएको थियो । कोभिड–१९ को संक्रमण कम भएसँगै अन्य मुलुकको लागि सरकारले भदौं १६ मा अन्तर्राष्ट्रिय व्यावसायिक उडान खुला गरेको भए पनि नेपाल–भारत व्यावसायिक उडान हुन सकेको थिएन ।

बुधबार बसेको मन्त्रिपरिषद्ले नेपाल–भारत व्यावसायिक उडान सुरु गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । “कोभिड–१९ का कारण रोकिएको नेपाल–भारत व्यावसायिक उडान गर्ने निर्णय मन्त्रिपरिषद्बाट निर्णय भएर आएको छ,” लामिछानेले भने, “मन्त्रालयले मातहतका निकायमा पत्रचार गरी जानकारी गराएका छौं । विमान कम्पनी, नियामक निकायको आन्तरिक तयारी पूरा भएपछि उडान सुरु हुनेछ ।”

मन्त्रालयका अनुसार एयर–बबल मोडलमा मात्र उडान गर्ने गरी व्यावसायिक उडान सुरु हुनेछ । यसरी हुने उडानमा नेपाल र भारतका नागरिकले मात्र उडान यात्रा अनुमति पाउने छन् । सो वाहेकका नागरिकले उडान अनुमति पाउने छैनन् भने कुटनीतिक नियोगको लागि उडान भर्ने देशको अध्ययागमन विभागबाट उडान यात्राको अनुमति स्वीकृत गरेपछि मात्र सो नागरिकले उडान गर्न पाउने सहसचिव लामिछानेको भनाइ छ ।

उनले भने, “तत्कालको परिस्थिति हेरेर नेपाल वायु सेवा निगमले एक उडान भर्न पाउने र भारतको तर्फबाट एयर इन्डियाले एक उडान गर्ने छन् । यसरी दैनिक २ उडान हुने छन् । उडान गर्नेको लागि कुटनीतिक पहल सुरु भइसकेको छ चाँडै उडान हुने छ ।” उनका अनुसार उडान सुरु गर्ने भन्ने विषयमा निर्णय भइसकेको छ भने काठमाडौं–दिल्ली उडान गर्नको लागि विमान कम्पनी र नियामकको आन्तरिक तयारी पूरा भएसँगै लामो समय देखिको नेपाल–भारत व्यावसायिक उडान हुनेछ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको जनाएको छ । यात्रा गर्ने यात्रुले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य गरेको छ । दुई देशबीच कुटनीतिक तबरबाट उडानको तयारी पूरा भएपछि उडान भर्ने विमान कम्पनीले उडान गर्नेको लागि नियामक निकायबाट उडान अनुमति प्राप्त भएपछि उडान हुने हुँदा केही साता समय लाग्ने जनाइएको छ । स्रोतका अनुसार तोकिएको समयमा तयारी पूरा भए मंसिरको ३० बाट नेपाल–भारत उडान हुने अनुमान गरिएको छ ।

सरकारले यसअघि कोभिड–१९ का कारण काठमाडौंमा उडान भर्ने सीमित विमान कम्पनीलाई मात्र अनुमति प्रदान गरिएको थियो । पछि विमान कम्पनीको उडान मागका आधारमा उडान अनुमति माग गरेको विमान कम्पनीलाई उडान भर्न अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

कोभिड–१९ अघि दैनिक आन्तरिक र वाह्य गरेर करिब ४ सय उडान अवतरण हुने गरेको पछिल्लो समय १ सय ८५ को हाराहारीमा उडान अवतरण हुने गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार आन्तरिकमा उडान संख्या वृद्धि हुँदै गए पनि कोभिड–१९को संक्रमणका कारण बाह्य उडान संख्या घट्ने क्रममा रहेको छ । आन्तरिकमा करिब १ सय ६० र बाह्यतर्फ २२ उडान अवतरण हुने गरेको कर्णले बताए । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्