RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२१ गते
४४३ पटक

काठमाडौं,  सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । सरकारले जनताको स्वास्थ्यलाई ख्याल गरी विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी अघि बढाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन गृहकार्य अघि बढाइसकेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी पनि दिनुभयो । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । ‘खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन, अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ,’ गौतमले भन्नुभयो ।

गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेका छन् ।

खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग छलफल भइरहेको जानकारी पनि अधिकारील दिनुभयो । ‘खोपको अन्तिम परीक्षणपछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौं, खोप अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ,’ अधिकारीले भन्नुभयो । विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

प्रतिकृया दिनुहोस्