RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२१ गते
५३३ पटक

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ४ करोड ६२ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ६२ लाख ३५ हजार ८५९ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १५ लाख ३४ हजार ३४४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६ करोड ६८ लाख ४७ हजार ८३३ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ८७ हजार ८२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ४९ लाख ५३ हजार ४२५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८ हजार ७९० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार २५१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार २१६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४८० जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार १११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६५ लाख ७७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६६० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७६ हजार ६४१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्