RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२३ गते
५८६ पटक

पछिल्ला दिनहरूमा सरकारले गर्दै आएका कामहरू स्वागतयोग्य रहेका छन् । सरकारले आज समृद्धिको आवश्यकता महसुस गर्दै गइरहेको अनुभूतिसमेत हामीलाई भएको छ । समृद्धि तब पूर्ण रूपमा हुन सक्छ, जब स्थिर सरकार र बलियो प्रतिपक्षी दलको भूमिका महत्वपूर्ण हुन्छ ।

सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण आइपरेको, स्वास्थ्य क्षेत्रमा देखा परेका तत्कालीन र दीर्घकालीन समस्यालाई देशमा भएका अधिकतम स्वास्थ्य उपकरण, स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्स, विज्ञ डाक्टरहरू, सुरक्षा क्षेत्रमा खटिने राष्ट्रसेवक प्रहरी, कर्मचारी इत्यादिलाई उचित किसिमले परिचालन गरी यस रोगको प्रकोपलाई न्यूनीकरण गर्दै यस रोगसँग लड्दै आर्थिक गतिविधि सुचारु गर्ने घोषणा गर्नु पनि एक स्वागतयोग्य कदम भन्न सकिन्छ ।

मुलुकले लामो समयसम्म लकडाउनको सामना गर्दा आर्थिक गतिविधिसमेत बन्द भएको थियो, जुन अहिले पुनः सञ्चालन हुन थालेको छ । सरकारले आफ्नो यथेष्ट जनशक्तिलाई परिचालन गर्दै स्वास्थ्य नै जीवन हो जुन अमूल्य छ, आज यस महामारीबाट बच्न र बचाउन हामी सबैको प्रयासबाट मात्र सम्भव छ, त्यही कुरालाई मनन गर्दै ६ अर्बबराबरको बजेट सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने भनी जुन अवधारणा ल्याएर ती अस्पतालहरूको एकैसाथ शिलान्यास भएको छ, त्यसमा हामी सबै नेपाली गौरवान्वित भएका छौं ।

सरकारसँग भएको सीमित स्रोतसाधनबाट सबै स्थानीय तहमा एकसाथ अस्पतालको शिलान्यास भएको छ । यसको प्रभावकारी ढङ्गले समयमा नै कार्य सम्पादन गर्नु आजको प्रमुख आवश्यकता ठानेका छौं । आज स्वास्थ्य क्षेत्रमा समयमा उपचार पाउन नसक्दा मानिसले अकालमा नै ज्यान गुमाउनुपरेको अवस्था छ । गर्भवती महिलाले बेलैमा स्वास्थ्य उपचार पाउन नसक्दा अकालमा मृत्युको सिकार बन्नुपरेको घटना विद्यमान नै रहेको छ ।

आजको यस कोरोना भाइरसको विषम परिस्थितिले हामीलाई स्वास्थ्यका बारेमा धेरै कुरा सिकाएको छ । मानौं, यो भाइरस एक न एक दिन निर्मूल होला, औषधि त बन्ला तर नेपालजस्तो विकासोन्मुख देशमा त्यस भाइरसको औषधि सर्वसुलभ पाइने भए पनि दुर्गम जिल्लाका स्थानीय तहसम्म पुग्न भने पक्कै समय लाग्न सक्छ । त्यसैले एकैपटक सबै स्थानीय तहमा साना, मझौला र ठूला अस्पताल बन्ने कार्यको शुभारम्भ भएको छ । जुन कार्य एक उदाहरणीय रहेको छ ।

सरकारले पहिलो चरणमा प्रदेश नम्बर १ मा ३२, प्रदेश नम्बर २ मा २०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेश ६०, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको छ । यसरी जनताले गाउँगाउँमा सिंहदरबारको सेवा प्राप्त गराउने विश्वास सरकारले दिलाएको छ, जुन स्वागतयोग्य कदम हो ।

आगामी दिनहरूमा पनि सरकारले आफ्ना जनताका विभिन्न समस्याहरूलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दै अति आवश्यकीय क्षेत्रमा नयाँनयाँ योजना र त्यसको कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रित गर्दै जाओस् र थालनी भएका योजनालाई कार्यान्वयनतर्फ केन्द्रित गर्दै अगाडि बढ्दै समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा निरन्तर सफलता हासिल गर्दै जाओस् । शुभकामना दिन चाहन्छांै ।कारोरबार दैनिक

प्रतिकृया दिनुहोस्