RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२४ गते
८३७ पटक

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको नापी विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका छन् ।

सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ भर्चुअल माध्यमबाट नेपाल र चीन सरकारले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत, साधन र प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेको हो ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपाल सरकारले आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सगरमाथाको उचाइ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै स्रोत, साधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको बताए । मन्त्री ज्ञवालीले सगरमाथाका बारेमा आधिकारिता र वैज्ञानिक तथ्य प्राप्तिसँग आम सहमति पनि भएको बताए ।

मन्त्री ज्ञवाली भने, ‘सगरमाथाका बारेमा आधिकारिक र वैज्ञानिक तथ्य मात्र प्राप्त भएको छैन, तथ्यसँग आम सहमति पनि भएको छ ।’

सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । त्यसो भएकाले यसको विश्वसनीयताका लागि उचाइ संयुक्त रूपमा घोषणा गरिनु आवश्यक भएको मन्त्री ज्ञवालीले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ मापन गरी घोषणा गर्ने इतिहासको दुर्लभ क्षणको साक्षी बनेको बताइन् । उनले सगरमाथाको उचाइ मात्र नबढेर नेपालको स्वाभिमान र सम्मान पनि बढेको बताइन् । उनले १७० वर्षको इतिहासमा आफैंले आफ्नै स्रोत, साधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन कार्य सफलतापूर्वक सम्पन्न गरेको बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘हामीले गरेको मापन कार्यबाट सरगमाथाको उचाइ सम्बन्धमा रहेको द्विविधापूर्ण स्थिति र आशंका अन्त्य भएको छ । सगरमाथाको उचाइ मात्र बढेको छैन, आज हाम्रो मुलुकको स्वाभिमान र सम्मान पनि बढेको छ । सगरमाथा शिखरमा सर्भेयरको पहिलो पाइला नेपालबाट परेको छ ।’

मन्त्री अर्यालले नेपालको गरिबी र बेरोजगारीको चर्चा गर्नेहरूले अब हाम्रो प्रविधि र क्षमताको चर्चा गर्ने बताउँदै नेपालीका लागि सुखद क्षण भएको बताइन् ।

नापी विभागका प्रवक्ता दामोदार ढकालले सगरमाथाको उचाइ मापन कार्यका लागि १३ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । उनले १३ करोड खर्चेर करिब दुई वर्षको समयावधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको बताए । सगरमाथा मापनका कार्यका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोलीसमेत गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो ।

विभागका अनुसार सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जीएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यस प्रविधिलाई सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ ।

सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर २३ मे २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए ।

२८ चैत २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट सगरमाथा मापनमा जाने टोलीलाई बिदा समेत गरेका थिए । चार जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पु¥याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो ।

सगरमाथाको मापन कहिले कहिले भएको थियो ?

सगरमाथाको मापन पहिलो पटक ब्रिटिस इन्डियन सर्भे टिमले सन् १८४७ मा गरेका थियो । त्यतिबेलाको सर्भेले सगरमाथाको उचाइ ८ हजार ८ सय ४७ मिटर रहेको तथ्यांक निकालेको थियो । त्यसपछि सन् १९५२ देखि १९५४ सम्ममा इन्डियन सर्भे टोलीले गरेको मापनमा ८ हजार ८ सय ४७.६ मिटर उचाइ रहेको तथ्यांक निकालेको थियो ।

सन् १९७५ मा चिनियाँ सर्भे टोलीले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.१३ मिटर निकालेको थियो । सन् २००५ मा चिनियाँ सर्भे भौगोलिक र भूउपग्रहबाट गरिएको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४४.४३ मिटर निकालेको थियो । तर नेपालले भने सो सर्भेलाई मान्यता नदिने बताएपछि पछिल्लो समय नेपाल र चीनले संयुक्त पमा सगरमाथाको मापन थालेका थिए । सन् २०२० मा दुई देशको टोलीले सर्भे गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेको घोषणा गरेको हो ।

विगतलाई जोड्ने र भविष्य निर्माणको बाटो खुल्यो : चिनीया राष्ट्रपति

चीनका राष्ट्रपति सी चिनफिङले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा विगतलाई जोड्ने र भविष्य निर्माण गर्ने महत्वपूर्ण कसीमा रहेको बताएका छन् । उनले सगरमाथाको नयाँ उचाइ घोषणासँगै एक पुस्तादेखि अर्को पुस्ताबीचको मित्रताको महत्वपूर्ण प्रतीक रहेको बताएका छन् ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै नेपाल र चीनका राष्ट्रपतिले बधाई ज्ञापन आदानप्रदान गरेका छन् । दुई देशको साझा सम्पत्ति सगरमाथाको पर्यावरण र वातावरण संरक्षण गर्न चीन नेपालसँग सहकार्य गरेर अगाडि बढ्न सधंै तत्पर रहेको चिनियाँ राष्ट्रपति सीले बताए । चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘पछिल्लो समय दुई देशबीच राजनीतिक विश्वास बढ्दै गएको र बीआरआईअन्तर्गतको सहयोगको निरन्तरता पाउनेमा विश्वास छ ।’ राजधानी दैनिकबाट ……………

प्रतिकृया दिनुहोस्