RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२५ गते
५७२ पटक

काठमाडाैं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद स्थायी कमिटीको बैठकबाटै टुङ्गो लाग्ने विश्वास नेताहरुको छ । “सके सर्वसम्मत नभए सामुहिक निर्णय र त्यो पनि नभए लोकतान्त्रिक प्रक्रिया ‘बहुमतको आधारमा’ आन्तरिक विवाद समाधान हुने ” स्थायी कमिटीका सदस्यहरुको बुझाई छ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा अलग अलग प्रस्ताव पेश गर्नुभएपछि  आन्तरिक विवाद स्थायी कमिटी बैठकमा सरेपछि त्यहीबाट विवाद सल्टिने विश्वास नेताहरुले गर्नुभएको हो । विगतमा देखिएको आन्तरिक विवाद पनि स्थायी कमिटी बैठकबाट टुङ्गिएकाले यसपाली पनि समाधानको उपाय निस्किने आशा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीद्वारा स्थायी कमिटी बैठकमा प्रेषित पत्रमा भनिएको छ, “मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो । आशा छ, यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुनेगरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ ।”

प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले स्थायी कमिटी बैठकको एजेण्डा नै ‘पार्टीको आन्तरिक समस्या’ तय भएपछि अध्यक्षद्वयको प्रस्ताव बैठकको अब मुख्य कार्यसूची नभएको बताउनुभयो । यद्यपि बैठकमा सदस्यहरुलाई अध्ययनका लागि प्रस्ताव वितरण भैसकेकाले त्यसमाथि नेताहरुले आफ्नो धारणा राख्न सक्ने बताउनुभयो । स्थायी कमिटी विद्यमान आन्तरिक विवाद समाधानमा सक्षम रहेकाले समस्या समाधान हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

“स्थायी कमिटीमा रहेका ४५ जना सदस्यले आफ्नो सुझावसहितको धारणा राख्नु होला, सबैको सुझावलाई संश्लेषण गरेर आन्तरिक विवाद सामधानको दिशामा जान्छ” रिमालले भन्नुभयो । पार्टीको विवाद आन्तरिक भएकाले आन्तरिकरुपमै समाधान हुन्छ भन्दै मुख्य सल्लाहकार रिमालले अहिलको विवाद समाधान गर्नै नसक्ने विवाद नरहेको बताउनुभयो ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अहिले देखिएको विवाद दुई अध्यक्षको विवाद नभएर समग्र पार्टीको विवाद भएकाले स्थायी कमिटी बैठकमा गम्भीर छलफल गरी सल्टाउने विश्वास व्यक्त गर्नुभयो । बैठकमा दुवै अध्यक्षको तर्क र भनाई सुनेर ‘के सही, के गलत’ ठम्याई समुउचित समाधान खोजिने उहाँले बताउनुभयो । “अध्यक्षद्वयले एक अर्कालाई आरोप प्रत्यारोप लगाउनु त भएको छ, तर दुवैले दावी गरेको कुरा सत्य त पक्कै नहोला, एउटाको सत्य होला अर्काको असत्य होला, त्यसको छिनोफानो गरेर समाधान खोज्न सकिन्छ” उहाँले भन्नुभयो ।

“सकेसम्म सर्वसहमतिले समाधानको उपाय निकालिने प्रयास हुन्छ, सम्भव नभए बहुमतलाई सर्वसम्मत मानेर निकास निकालिनेछ, त्यो पनि नभए विधानले गरेको व्यवस्थाअनुसार अल्पमत र बहुमतको आधारमा विवाद सल्टिन्छ” स्थायी कमिटी सदस्य ज्ञवालीले भन्नुभयो । बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुको तर्फबाट पनि सुझाव समेटिएको प्रस्ताव पेश हुने उहाँले बताउनुभयो । दुवै अध्यक्षको जीत हुनेगरी सामुहिक निर्णय गरेर समाधान खोज्दा अझ उपयुक्त हुने नेता ज्ञवालीले सुझाउनुभयो ।

गत आइतबार २१ गते बसेको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ । आगामी आइतबार २८ गते बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरुले धारणा राख्ने र विवाद समाधानको उपाय खोजिने नेताहरुको भनाई छ । यसअघि गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल बनाएर समस्याको समाधान गरेको थियो । तर यस पटक कार्यदल बनाइएको छैन ।

पार्टीको आन्तरिक विवाद समाधानका विषयमा अध्यक्षद्वय पनि सवादमा हुनुहुन्छ । बुधबार दुवै अध्यक्षबीच बालुवाटारमा एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो । आन्तरिक विवाद सुल्झाउने विषयमै दुवै अध्यक्षबीच छलफल भएको र स्थायी कमिटी बैठक अघि संवाद कायमै राखेर समाधानकानिम्ति प्रयास गर्ने प्रतिवद्धता पनि छ । गोरखापत्र दैनिकबाट 

प्रतिकृया दिनुहोस्