RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२५ गते
६०६ पटक

ज्येष्ठ नागरिक बोझ होइनन्, हाम्रो बुद्धिका स्रोत हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनुपर्छ । विकास–निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्छ, जसबाट समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी–गैरसरकारी क्षेत्रमा बसेर काम गरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य प्राप्तिमा होस्टेमा हैंसे हुन सक्छ ।

कतिपय अवस्थामा निवृत्तहरूको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानीसमेत रहेको हुन्छ । स्वतन्त्र रूपमा समाजमा आफ्नो संस्कार संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला–संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवद्र्धनमा समेत सदुपयोग गर्न सकिन्छ । देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ ।

तुलनात्मक रूपमा युवावर्गको योगदान उल्लेख्य रहने भए तापनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्नु हुन्न ।

ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरू रहन्छन् नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहारविहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव छ । मानव जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी हो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौहार्दता र मर्यादित आचरण तथा अनुशासित जीवन जिउने संस्कारको सुनिश्चितता आजको आवश्यकता हो ।

ज्येष्ठ नागरिकहरू देशको समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालायित छन् । मेरो समाज मेरो योगदानजस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रूपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ । वृद्धवृद्धाले आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप र पछिल्लो पुस्ताका लागि अर्ती–उपदेश अमूल्य मार्गदर्शनका रूपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ ।

कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको अनि पितृ देवो भव, मातृ देवो भवजस्ता परम्परागत आदर्श वाक्य आत्मसात् गर्दै सदिऔं चलेको हाम्रो संस्कारमा पछिल्लो समयमा विचलन आउन थालेको जगजाहेर नै छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधैमाथिको भनाइ चरितार्थ हुँदै गएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९१ मा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ ।

चालू पन्ध्रौं योजनाले ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिका लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७÷७८ को बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको छ । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्था समेत गर्ने उल्लेख छ ।

ज्येष्ठ नागरिकका लागि मासिक ३ हजार भत्ता, निःशुल्क स्वास्थ्य बिमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए तापनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।

स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । अहिले नेपालीको सरदर बाँच्ने आयु दर ६८ वर्ष पुगेको छ । जसको फलस्वरूप ६० वर्षे ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वभाविकै हो । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३.४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसंख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिक छन् । यसमा पनि पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । विगत पछिल्ला पाँच जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको संख्या बढ्ने निश्चित नै छ ।

ज्येष्ठ नागरिकको संख्यात्मक वृद्धिअनुसार उनीहरूको गाँस, बास र कपासको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो । साधारणतया वृद्ध अवस्थामा देखिएका र भोगिएका समस्याहरूमा खानपान र औषधि–उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रबन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता,

सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्ध आश्रमको उचित व्यवस्थापन आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनीहरूको शारीरिक र मानसिक तन्दुरुस्ती अनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषिकर्ममा लगाउने, व्यापार–व्यवसायमा सक्रिय बनाउन सकिन्छ ।

त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिकलगायतका विज्ञहरूको अनुभवलाई सामाजसेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ । कारोबार दैनिकबाट 

प्रतिकृया दिनुहोस्