RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२६ गते
५४२ पटक

मोरङ, आर्थिक लेनदेनमा बलात्कारीलाई बचाउने काम गरेको अभियोगमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको पाइएपछि संलग्न सवैलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ का ५३ को मथालु खवास रहेका छन ।

उनीहरूलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गत भदौ २४ गते मोरङ धनपालथान गाउँपालिका–५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए ।

घटना भएको एक महिनापछि इलाका प्रहरी कार्यालय रंगेलीमा पीडित परिवारले जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले खोजी गरिरहेकै अवस्थामा गाउँमा मिलापत्र गराइएको पाइएपछि पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीले मंसिर १९ गते रंगेली नगरपालिका वडा नं. ७ बाट खवासलाई पक्राउ गरेको थियो । पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमै पीडित पक्षलाई पाँच लाख दिई मिलापत्र गराइएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्