RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/३ गते
४६८ पटक

काठमाडौँ । विभिन्न अध्ययनले १० दिनपछि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । संक्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै संक्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए ।

महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ । महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्नाबापतको रकम उपलब्ध गराइने जानकारी दिए ।  उनले कुनै पनि अस्पतालले कोभिड–१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय-प्रदेश-स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी  दिए ।

मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ । मन्त्रालयले बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने बताएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमित ४४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा छन् ।

प्रतिकृया दिनुहोस्