RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/३ गते
४६८ पटक

संसदीय समितिले उखु किसानलाई चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सात दिनभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सात दिनभित्र भुक्तानीको व्यवस्था मिलाइ सोको विवरण समितिमा उलब्ध गराउन निर्देशन दिएका हुन् । “उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्को हप्ता समितिलाई जानकारी गराउने” निर्देशनमा उल्लेख छ ।
समितिले बिहीबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र चिनी उद्योग सञ्चालकहरुलाई बोलाएर एक साताभित्र किसानको रकम भुक्तानी गराउन निर्देशन दिएको हो । सांसदहरुले किसानको उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तुरुन्तै पक्रन सरकारसँग आग्रह गरेका छन् ।
सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्यत्र लगानी गर्ने तर किसानलाई पैसा नदिएको बताए । बैठकमा सांसद भीमसेनदास प्रधानले उद्योगीको जाय जेथा राज्यले लिएर किसानलाई उखुको रकम बाँड्न आग्रह गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुको संरक्षणमा उद्योगीले उखु किसानलाई बक्यौता नतिरेको बताए ।
सार्वजनिक स्थानमा किसानलाई बक्यौता तिर्नु पर्छ भन्दै पहलमा हिँड्ने नेताहरु नै सरकारसँग गोप्यरुपमा उद्योगीको बचाउ गर्न आउने उनको आरोप छ । चिनी उद्योग संघको अध्यक्षसमेत रहेका शशीकान्त अग्रवालको श्रीराम सुगर मिल्सले ३ दिनभित्रमा बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेको मन्त्री भट्टले जानकारी दिए । श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।
यसैबीच उखुको रकम भुक्तानीको माग गदै गत आइतबारदेखि आन्दोलनरत उखु किसानले आफूूहरूले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र मन्त्रालयलाई पठाएका छन् ।
उखु किसानले भुुक्तानीको पूर्णरुपमा सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभई किसानलाई झुक्याएको भन्दै उनीहरुले भुक्तानीका लागि सरकारलाई दुुई सर्त अगाडि सारेका हुन् ।
यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै उनीहरूले बक्यौता भुक्तानी भए मात्र आफूहरू तत्काल घर फर्कने बताएका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले उद्योगीले किसानलाई बक्यौता भुक्तानी नदिएसम्म आफूहरूको शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । “उद्योग मन्त्रालयले उद्योगीबाट कुन मितिसम्म भुक्तानी गराउन, त्यो मितिसम्म पीडित किसान सडकमै रही शान्तिपूर्ण आन्दोलनमा हुनेछन्, संघर्ष समितिले सरकारलाई दिएको पत्रमा भनिएको छ ।”
उनीहरूले पत्रमा राज्यकोषबाट किसानलाई बक्यौता भुक्तानी दिन र सम्पूर्ण रकम उद्योगीबाट ब्याजसहित असुलउपर गर्न पनि सरकारलाई सुुझाव दिएका छन् । संघर्ष समितिका अध्यक्ष रायले आन्दोलनरत किसानले दिएका दुई मध्ये एक विकल्प कार्यान्वयन गर्न आग्रह गरे । चिनी मिलले ३ वर्ष अघिदेखिको ९० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्