RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/४ गते
४७० पटक

पार्टीभित्रको अन्तर्संघर्ष चुलिँदै जाँदा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा समूहगत भेलालाई तीव्रता दिएका छन् । कात्तिक दोस्रो साताबाट सुरु भएको दुवै पक्षको भेलाको शृंखला प्रदेश हुँदै जिल्ला र जनसंगठनमा विस्तारित हुँदै गएको छ । एक–डेढ महिनाकै बीचमा घोषित रूपमै एक दर्जनभन्दा बढी औपचारिक भेला भएका छन् भने दुवै पक्षले एकले अर्कालाई झुकाउने गरी स्थानीय तहसम्म अन्तर्संंघर्ष चर्काउन निर्देशनसमेत दिएका छन् ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार पेरिसडाँडास्थित जनसंगठनहरूको केन्द्रीय कार्यालयमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको भेला गरेको छ । भेलामा प्रदेश १ का १४ जिल्लाका उपलब्ध केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीसहित ६५ जना सहभागी थिए । बागमती प्रदेशका जिल्लाहरूको प्रदेश भेला गरेर निरन्तरता दिँदै यो समूहले अर्को समूहगत भेला गरेको हो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रदेश १ का इन्चार्ज भीम आचार्यलगायतले व्यक्तिवादका विरुद्ध विधि र पद्धतिका पक्षमा चर्किएको अन्तर्संघर्षलाई तलसम्म संगठित रूपले विस्तार गर्न निर्देशन दिएका छन् । दुवै पक्षबीच भेला गर्ने होडबाजी तल्लो तहसम्म झन्झन् बढ्दै गएको छ ।

यसअघि प्रचण्ड–नेपाल समूहले गत २५ मंसिरमा बागमतीअन्तर्गत १३ जिल्लाका जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवहरू सहभागी भेला गरेको थियो । बागमती प्रदेशमा प्रचण्ड–नेपाल समूहको आठ जिल्ला संयोजक छन् । जसमा प्रचण्ड समूहबाट रामेछाप, काभ्र्रे, चितवन र सिन्धुली तथा नेपाल समूहबाट सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र मकवानपुरमा जिल्ला संयोजक छन् । त्यस्तै, ओली समूहबाट काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ र दोलखामा जिल्ला संयोजक छन् । भेलामा प्रदेश कमिटी र जिल्ला कमिटीहरूमा बहुमतसहितको राम्रो पकड रहेको र यसलाई वैचारिक संघर्षकै रूपमा तलसम्म पु¥याउन नेताहरूले निर्देशन दिएका थिए ।

त्यस्तै, गत २८ मंसिरमा प्रधानमन्त्री ओलीको गृहनगर दमकमा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का विद्यार्थीको भेला गरेको थियो । भेलालाई केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डललगायतले सम्बोधन गरेका थिए । भेलामा प्रदेश १ भरिका करिब पाँच सय विद्यार्थी सहभागी थिए ।

त्यस्तै, २७ मंसिरमा ओली पक्षले मोरङको सुन्दरहरैँचामा भेला आयोजना गरेको थियो । पार्टी एकताका लागि युवा अभियान प्रदेश १ नाम दिएर गरिएको भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उनले एकताको मर्मविपरीत नजान प्रचण्ड–माधव समूहका नेतालाई चेतावनी दिएका थिए । उनले पार्टी एकताको महाधिवेशन गर्न बनेको अन्तरिम कमिटीले अल्पमत र बहुमतको विषय ल्याउन नहुने बताएका थिए ।

त्यही दिन मोरङको गोठगाउँमा पनि शक्ति प्रदर्शनसहित ओली पक्षले युवाहरूको भेला सम्पन्न गरेको थियो । गोठगाउँमा भएको भेलामा ओली पक्षका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । ओली समूहले झापाको दमक, बिर्तामोड, मेचीनगर र भद्रपुरमा पनि गुट भेला गर्ने तयारी गरिरहेको छ । प्रचण्ड–नेपाल पक्षले पनि ३० मंसिरमा प्रदेश १ को राजधानी विराटनगरमा जिल्लास्तरीय युवा र विद्यार्थीको भेला गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री ओलीले १९ कात्तिकमा पहिलोपटक जुममार्फत प्रदेश १ स्तरीय कार्यकर्ता भेला आयोजना गरेका थिए । लगत्तै प्रचण्ड–नेपाल समूहले पनि १० मंसिरमा सुनसरीको इटहरीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

त्यसपछि १९ मंसिरमा प्रचण्ड–नेपाल समूहले थापाथली क्याम्पसमा विद्यार्थी भेला गरेको थियो । मदन भण्डारी कलेजमा ओली समूहको विद्यार्थी भेला सम्पन्न भएलगत्तै प्रचण्ड–नेपाल समूहले पनि उस्तै भेला गरेर काउन्टर गरेपछि अहिले पनि दुवै पक्षले कुनै न कुनै भेला गरिरहेका छन् ।

प्रदेश १ को भेलामा प्रचण्डले भने– अध्यादेश फिर्ता नगरे ओलीमाथि ‘एक्सन’

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएका छन् । प्रदेश १ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटीको निर्णय नमान्ने, केन्द्रीय कमिटी बैठक डाक्नै आलटाल गर्ने गरेको जानकारी दिँदै पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर पार्टीलाई चुनौती दिएको बताए । ‘उहाँ पार्टीको कुनै पनि निर्णय पालना गर्दिनँ भन्नहुन्छ । पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि अहिलेसम्म फिर्ता गर्नुभएको छैन, उहाँले पार्टी निर्णयलाई मान्नुभएन भने अबचाहिँ एक्सनमै जानुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक जिल्ला पदाधिकारीले भने ।

भेलामा सहभागी उदयपुर जिल्ला कमिटीका सचिव ईश्वरमणि रावतले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीभित्र चर्किंदै गएको अन्तर्संघर्ष, अहिलेसम्म अन्तर्संघर्षका विकसित घटनाक्रम, अन्तर्संघर्षको मूल सवाल पार्टीभित्र हुर्किएको व्यक्तिवाद, विधि र पद्धति, एकता प्रक्रिया टुंगिन नसक्नुका कारणलगायत विषयबारे अवगत गराएको बताए । सरकार बनेदेखि नै पार्टीलाई चुनौती दिँदै सरकार सञ्चालन भइरहेको विषयमाथि पनि नेताहरूले प्रस्ट पारेका थिए । त्यस्तै, भेलामा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई समाजवादको बाटोमा अगाडि बढाउन जालझेल गरेको, संघीयता, लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका थिए । उनले पार्टीभित्र ओलीकै कारण बुर्जुवा शैलीको विकास हुँदै गएको पनि चर्चा गरेका थिए ।

अर्का वरिष्ठ नेता नेपालले पार्टी एकीकरणदेखि नै नेकपा विधि र पद्धतिसम्मत ढंगले सञ्चालन हुन नसकेको प्रस्ट्याएका थिए । ओलीले सचिवालयकै नेताहरूबीच जालझेल गर्दै दाउपेच गरेर पदको बाँडफाँड गर्दै अन्तर्संघर्षलाई कमजोर पार्न खोजे पनि अब भने बैठकबाटै निर्णायक छिनोफानो हुने बताएका थिए । उनले पार्टीभित्र झाँगिएको विकृति–विसंगतिविरुद्ध लड्नुको अर्थ कमी–कमजोरीलाई सच्याएर अझ बलियो बनाउने उद्देश्य भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताएका थिए । प्रदेश १ का इन्चार्ज भीम आचार्यले पार्टी विधिसम्मत ढंगले सञ्चालन हुन नसक्दा प्रदेशदेखि स्थानीय तहसम्म भद्रगोल र अराजकता झाँगिएकाले अबको अन्तर्संघर्षबाटै सबै समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । नेताहरूले सरकार बनेपछि केन्द्र र प्रदेशमा भएका सम्पूर्ण राजनीतिक नियुक्ति, मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टीको निर्देशनमा सरकार सञ्चालन हुने, पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने अवस्था बने मात्र अहिलेको अन्तर्संघर्ष तत्कालका लागि व्यवस्थापन हुन सक्ने बताएका थिए ।

वामदेवले भने– भेलामा जान्नँ, बैठकबाटै समाधान खोज्नुपर्छ

पार्टीभित्र चुलिँदै गएको अन्तर्संघर्षमा अध्यक्ष प्रचण्ड र नेपाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमले समूह भेला भने बहिष्कार गरेका छन् । उनले प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आफू कुनै पनि गुट भेलामा सहभागी नहुने प्रस्ट्याएका छन् । शुक्रबार प्रचण्ड–नेपाल समूहको भेलामा अनुपस्थित गौतमले भनेका छन्, ‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने वेला होइन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’ गत २५ मंसिरमा प्रचण्ड–नेपाल समूहकै बागमती प्रदेशअन्तर्गतका जिल्ला पदाधिकारीको भेलामा पनि गौतम सहभागी भएका थिएनन् ।नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्