RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/५ गते
९५३ पटक

काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माको २० महिने कार्यकालमा करिब २१५० कि.मि. सडक कालोपत्रे भएको छ । १७५० कि.मि. सडक ग्राभेल, ७५० कि.मि. नयाँ ट्रयाक निर्माण र ४०० पुल निर्माण सम्पन्न भएका छन् । सडक विभागका अनुसार २० महिनामा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गको निर्माण कार्यमा तिव्रता । यस अवधिमा हुलाकी राजमार्गमा ४०० कि.मि. र मध्यपहाडी राजमार्गमा ३२२ कि.मि. कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ ।

यस्तै चुरे भावर तथा भित्री मधेश क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने मदन भण्डारी राजमार्गको करिब २०० कि.मि. सडक कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ भने बाँकी खण्डमा ठेक्का प्रक्रिया र निर्माण तिव्र गतिमा अगाडि बढेको छ ।

काठमाडौ उपत्यकाका करिब ६५ कि.मि. सडकको पुनस्र्थापना तथा स्तरोन्नतिको कार्य सम्पन्न भएको छ ।

विगतमा हिलो र धुलोले आक्रान्त बनाउने काठमाडौका सडकहरु मर्मत सम्भार गर्न सडक बोर्डको बजेटमा दोब्बर बृद्धि गर्दै छोटो समयमा ठेक्का व्यवस्थापन र निर्माण तथा मर्मत सम्भारको कार्यलाई सम्पन्न गरी काठमाडौका सडक सफा र स्तरीय बनाई आवागमनमा सहजता ल्याउन सफल भएको । यस अवधिमा उपत्यकाका करिब १०० कि.मि. सडकमा आवधिक मर्मत कार्य सम्पन्न गरिएको  छ ।

काठमाडौ उपत्यका सडक विस्तार अन्तर्गतका विगतमा विवाद उत्पन्न भई लामो समयसम्म अवरुद्ध रहेका केही सडकहरु निरन्तरको प्रयासबाट यसै अवधिमा निर्माण सम्पन्न भएका र केही सम्पन्न हुने चरणमा रहेका । जस अन्तर्गत कलंकी नागढुंगा सडक, चावहिल जोरपाटी र लगनखेल सातदोबाटो सडकको विस्तार कार्य करिब शतप्रतिशत नै सम्पन्न भएको । त्यस्तै जोरपाटी सुन्दरीजल, जोरपाटी साँखु, ग्वार्काे इमाडोल लुभु लामाटार लगायतका सडकहरु विस्तारको कार्य तिव्र रुपमा अगाडि बढेको । बालाजु ककनी सडकको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसँग काम सुचारु गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यस अवधिमा व्यापारिक मार्ग विस्तार अन्तर्गतका पूर्व पश्चिम राजमार्गदेखि भारत सीमा जोड्ने ५ वटा सडकहरुको ४ लेनमा विस्तार गर्ने करिब ७५ प्रतिशत भन्दा बढी प्रगति हासिल भएको छ ।

वैदेशिक सहायतामा बृद्धि गर्दै पूर्व पश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत नारायणघाट बुटवल खण्ड ११४ कि.मि. र कमला कञ्चनपुर  खण्ड ८७ कि.मि. को निर्माण कार्य शुरु भइसकेको । काकरभिट्टा बुटवल खण्डभित्र पर्ने ३८७ कि.मि.अन्य  खण्डहरुको डिपिआर तयार गर्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको जनाइएको छ ।

मुग्लिन पोखरा सडकलाई ४ लेनमा स्तरोन्नति गर्नको लागि ठेक्का प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौताको चरणमा रहेको छ भने नागढुंगा नौविसे मुग्लिन सडक विस्तार गर्न ठेक्का खरिद प्रक्रिया अगाडि बढेको ।

नागढुंगा सुरुङ्ग मार्गको निर्माण कार्य तिव्रताको साथ अगाडि बढिरहेको र सिद्धबाबा सुरुंगमार्गको ठेक्का प्रक्रिया अघि बढाउने चरणमा रहेको विभागले जनाएको छ ।
लामाबगर लाप्चे, धरान लेउती, खुटिया दिपायल गोदावरी  सुरुङ्गमार्ग निर्माणको लागि डिपिआर तयार गर्ने परामर्शदाता छनोटको कार्य अगाडि बढिरहेको उल्लेख छ ।
उपत्यका चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना चोकहरुमा फ्ल्याई ओभर डिजाइनको कार्य भैरहेको र यसै आर्थिक वर्षमा डिजाइन सम्पन्न गरी ठेक्का प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

कोभिड १९ को महामारी र यसबाट सृजित लकडाउनको विषम परिस्थितिमा पनि काठमाडौ उपत्यकाभित्र र अन्य राजमार्गहरुको मर्मत सम्भार र आवधिक मर्मतको कार्यलाई तिव्रता दिई वर्षात अगाडि सडकहरु सुन्दर र दुरुस्त राखिएको । विगतका वर्षातमा राष्ट्रिय राजमार्गहरु बाढी पहिरोको कारण केही लामो समय अबरुद्ध हुने गरेकोमा यस आवको वर्षातमा हेभी इक्युपमेन्ट र म्यानपावरहरु प्रभावकारी परिचालन र सो को विवरण सडक विभागको आधिकारिक वेवसाइट मार्फत अद्यावधिक गरी अधिकाँश राजमार्गहरु तुरुन्त सुचारु गरिएको उल्लेख छ ।

विगतमा वर्षौदेखि सञ्चालनमा नरहेका उपत्यकाका विभिन्न चोकहरुको ट्राफिक लाईटहरु पुन सञ्चालनमा ल्याउन सफल भएको ।

उपत्यकाको विजुलीवजार स्थित धोबीखोला पुलमा Signature Bridge को निर्माण गरिएको साथै अन्य राजमार्ग र शहरमा १० वटा Signature Bridge निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य भइरहेको उल्लेख छ ।

विगतमा वार्षिक ७० को हाराहारीमा पुलहरु निर्माण हुने गरेकोमा गएको २ वर्ष २०० भन्दा बढी पुलहरु निर्माण सम्पन्न भएको र यस आवमा ३०० बढी पुलहरु निर्माण हुने जनाइएको छ ।

राजमार्गहरुमा सडक सुरक्षा सम्बन्धी संरचाहरु निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईएको जसका कारण राजमार्गहरुमा हुने दुर्घटना र मानवीय क्षतिमा कमी आएको उल्लेख छ ।

विगतमा विभिन्न कारणले रुग्ण रहेका ठेक्काहरुको निर्माण सम्पन्न गर्ने, कारवाही गर्ने र ठेक्का तोडी कालोसूचीमा राख्ने गरी ठेक्का फरफारकको कार्यलाई तिव्रता दिइएको छ ।

नयाँ ठेक्का लगाउन भन्दा पुराना र अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिने विभागले जनाएको छ ।

सडक निर्माणमा पटक पटक अवरोध हुने विद्युत र दुरसंचारका संरचनाहरुलाई व्यवस्थित गर्न सडक विस्तरको क्रममा पहिलेनै Utility Duct राख्ने सम्बन्धमा दूरसंचार र विद्युत प्राधिकरणसँग एमओयु भएको विभागले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्