RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/६ गते
५२२ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सरकारविरुद्ध घेराबन्दी गरेर काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन्।

‘नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुको जनअपेक्षा विपरीत कार्य भएको छ। वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र पार्टी एकता गर्ने उद्घोष भएको हो’, उनले भने, ‘राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुरुप अघि बढ्न नदिने काम भयो। समस्याको दलदलमा राष्ट्रिय राजनीतिलाई अल्झाउने काम भएको छ। तर पनि बाधा हटाउँदै काम भएको हो। केही नेताहरुले सरकारविरुद्ध अड्चन दिइरहे। घेराबन्दी गरिरहे, बाध्य भएर संसद् विघटनको कदम चाल्नु परेको हो।’

ओलीले नेकपा केही नेताहरु (नाम नलिइ) ले स्वदेश तथा विदेशमा बसेर अस्थिरता छरेको बताएका छन्। ‘सरकार संविधान कार्यान्वयमा क्रियाशील भइरह्यो। तर कुनै नेताले म मुलुक बाहिर भएको बेला अस्थिरता छरे। विदेश पुगेर पनि षडयन्त्र गरे’, उनले भने, ‘केही नेताहरुले आफ्नो कुन्ठा पोखिरहे। दुई अध्यक्षबीच एकजना सरकार र पार्टीमा केन्द्रित हुने निर्णय भएपछि समस्या समाधन हुने अपेक्षा थियो। तर सरकारलाई भने राम्रोसँग चल्नै दिइएन।’

ओलीले पार्टी घोषणापत्रको मर्म अनुसार सरकारलाई हाँक्न खोजिएको दाबी गरे। ‘सरकार राम्ररी चलाउने खोजिएकै हो। तर मन्त्रिपरिषद् पुनर्गठनमा आफ्नो र पराईको मान्छे भनेर च्यापियो’, उनले भने, ‘संवैधानिक निकायको रिक्तता पूरा गर्न दिइएन। साढे दुई वर्षसम्म काम गर्नै दिइएन। प्रतिकूलताबीच पनि महत्वपूर्ण काम भएका छन्।’

प्रतिकृया दिनुहोस्