RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/७ गते
४९३ पटक

मंगलबारबाटै पार्टी औपचारिक रूपमा विभाजन हुने निश्चित देखिए पनि सोमबार रातिसम्म उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओली खेमा कतै खुलेका छैनन् । गौतमसँग नाम जोडिएका सबैजसो सांसदले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । तर, ओली र गौतमसँग समदूरीमा रहेका स्थायी कमिटी सदस्य तथा सांसद रघुवीर महासेठले भने आफूहरूलाई साथ दिने वरिष्ठ नेता माधवकुमार नेपालले दाबी गरेका छन् । उनीसँग जोडिएका केन्द्रीय सदस्यहरू बलराम बाँस्कोटा, हरि पराजुली, राधा ज्ञवालीलगायत केही अझै गौतमकै कारण कतै खुलेका छैनन् ।

प्रतिनिधिसभा विघटनको विरोध गरेका गौतम दुवै पक्षको भेला र छलफलमा सामेल छैनन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा भने उनी कता जान्छन्, सबैको चासो भएको छ । तर, गौतमले सोमबार औपचारिक भनाइमार्फत आफू फुटको साक्षी नबस्ने बताएर दुवैतिरको बैठकमा नजाने प्रस्ट संकेत गरेका छन् । ‘अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु,’ उनले भनेका छन् ।

उता, गौतमजस्तै गृहमन्त्री बादल कता लाग्लान् भन्ने विषय पनि नेकपापंक्तिमा चासो बढेको छ । उनको समूहमा रहेका स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालसहित करिब दुई दर्जन केन्द्रीय सदस्यमध्ये अधिकांशले पुल्चोकस्थित क्वार्टरमै पुगेर बादललाई प्रचण्ड–नेपालको पक्षमा खुल्न र विघटनको समर्थन गरेर प्रतिक्रान्तिको बाटोमा नहिँड्न दबाब दिएका छन् । यद्यपि, उनकै समूहका केन्द्रीय सदस्य कुलप्रसाद केसीसहित आधा दर्जनजति केन्द्रीय सदस्य भने उनी अन्तिममा जता खुल्छन् त्यतै लाग्ने मनस्थितिमा देखिएको स्रोतले जनाएको छ । ‘हामीले उहाँलाई भेटेर दबाब दिएकै हो, अन्तिममा उहाँले तपाईंहरूको भावनाको सम्मान गर्दै अब उचित निर्णय लिन्छु, ढुक्क हुनुस्, प्रतिक्रान्तिको बाटोमा लाग्दिनँ भन्नुभएको छ,’ उनीनिकट एक स्थायी कमिटी सदस्यले भने ।

उनीनिकट स्रोतका अनुसार बादलले प्रधानमन्त्री र प्रचण्ड दुवैलाई आफूले अन्तिममा साथ दिने आश्वासन दिएका छन् । बादलले दुवै अध्यक्षसँग बेग्लाबेग्लै भेट पनि गरेका थिए । ‘प्रधानमन्त्री महाधिवेशनसम्म अहिलेकै जनताको जनवादको कार्यदिशालाई बोकेर जाने र महाधिवेशनमा मात्रै बहस ओपन गर्ने, अहिलेलाई जबज नबोक्ने लिखित समझदारीमा तयार हुनुभयो भने त्यतातिर समर्थन गर्ने सम्भावना पनि छ, उहाँ अझै सोच्ने तहमै हुनुहुन्छ, अन्यथा उहाँले बहुसंख्यककै निर्णयअनुसार प्रचण्ड–नेपाललाई नै साथ दिनुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो । उनी पनि दुवै पक्षको भेलामा सामेल छैनन् ।

केन्द्रीय सदस्यहरूसँगको भेटमा भने बादलले देशी–विदेशी प्रतिक्रियावादीहरूले नेकपा विभाजनका लागि कोसिस गर्दै आएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहले उनीहरूको चाहनालाई पूरा गर्ने गरी पार्टी विभाजन गर्न खोजेको बताएका थिए ।

‘पार्टी फुटको दिशामा जानुहुन्नथ्यो, तर देशी–विदेशी प्रतिक्रियावादी खुसी बनाउने खेलतिर दुवै पक्ष लाग्दा अहिलेको अवस्था आयो, वास्तवमा प्रधानमन्त्रीलाई हटाउन गरिएको हस्ताक्षर र त्यसको प्रतिक्रियामा प्रतिनिधिसभा विघटन गर्ने दुवै कदम अतिवादी हो र दुवै बेठीक छ,’ बादलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, म अझै एकताका लागि कोसिस गरिरहेको छु । सबैको भावनाअनुसार उपयुक्त निर्णय लिन्छु, तपाईंहरूलाई निराश बनाउँदिनँ ।’

उता, पूर्वमाओवादी समूहकै उद्योगमन्त्री लेखराज भट्ट सोमबारको बालुवाटारमा भेला भएर ओलीको पक्षमा खुलेका छन् । उनले सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिइएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन भएको भन्दै त्यसमा समर्थन रहेको बताएका थिए । टोपबहादुर रायमझी केहीबेर देखापरेर भेला सुरु नहुँदै बाहिरिएका थिए । हरिबोल गजुरेल र मणि थापा पनि दुवैतिरको भेलामा सामेल नभए पनि उनीहरूले ओली पक्षलाई साथ दिने तयारी गरेका छन् । उता, नेपालनिकट नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद शेरबहादुर तामाङ ओली पक्षको भेलामा सहभागी भएका छन् । प्रचण्ड–नेपालको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुम्लाका सांसद छक्कबहादुर लामा पनि ओली पक्षमा खुलेका छन् ।  नयाँ पत्रिका दैनिकबाट ………………

प्रतिकृया दिनुहोस्