RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/७ गते
४५८ पटक

काठमाडौ, पुस ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज दुई ठाउँमा बस्दैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । विहान ९ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरु पुग्नेक्रम जारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाको अलग अलग बैठक हुन थालेपछि पार्टी अनौपचारिक रुपमा फुटको संघारमा पुगिसकेको तर औपचारिकरुपमा घोषणा हुन मात्र बाँकी रहेको नेताहरुको बुझाई छ । अन्य सदस्यहरु आउनेक्रम जारी रहेकाले १० बजेसम्म बैठक शुरु हुने जानकारी दिनुभयो ।

उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले दिउँसो १ बजेकालागि केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ ।  सो बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पार्टीबाट कारवाही गर्ने कार्यसूची तय भएको सो पक्षका नेताहरुले जानकारी दिनुभएको छ ।

यता अध्यक्ष ओलीले आफूलाई प्रचण्ड पक्षको भेलाले कारवाही गर्न नसक्ने वल्की विश्वलाई हँसाउने नौटङ्की गर्न लागेको टिप्पणी गर्नुभएको छ । हिजो सोमबार पनि दुवै पक्षका अलग अलग भेलाहरु सम्पन्न भए । हिजो अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई विहान ९ बजेकालागि बालुवाटारमा बोलाएर छलफल गर्नुभयो । उता अध्यक्ष प्रचण्ड पक्षकाले नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल गर्नुभयो ।

आजको दुवै बैठकमा पार्टीको वर्तमान संकट र अगाडि बढ्ने रणनीतिबारे छलफल र निर्णय गर्ने दुवै पक्षका नेताहरुले बताउनुभएको छ । नेकपा दुई खेमामा विभाजित भएपछि नेता तथा विघटित सांसदहरुलाई आफ्नो पक्षमा तान्ने कसरत चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्