RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/७ गते
५१९ पटक

युरोपका कतिपय देशमा कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन आइसकेको छ । उनीहरूले सर्वसाधारणका लागि (मास भ्याक्सिनेसन) लगाउन पनि सुरु गरिसकेका छन् । तर, युरोपमा त्योभन्दा पनि चाँडो चिसो मौसम आएको छ । चिसो मौसममा कोरोना भाइरस संक्रमण अझै खतरापूर्ण हुने विज्ञहरूको चेतावनी छ ।

चिसो मौसममा भाइरस लामो समय बाँच्ने तथ्य छ । यो समयमा यसै पनि मानव शरीरमा धेरै समस्या देखिने गर्छ । मानिस शारीरिक रूपमा कमजोर भएको अवस्थामा भाइरस संक्रमण चाँडो फैलने सम्भावना रहन्छ । अहिले पनि युरोपका धेरै देशमा भाइरस संक्रमण फेरि बढ्न थालेको छ । संक्रमितहरूको संख्या दैनिक उकालो लागेको देखिएको छ ।

क्रिसमस पर्व र नजिकिँदो नयाँ वर्षका कारण युरोपका धेरै देशलाई यतिखेर निकै सास्ती भइरहेको छ । सर्वसाधारण आफन्तसँग भेट गरी क्रिसमस मनाउने योजनामा छन् । तर, त्यसले संक्रमण अझ तीव्र रूपमा फैलाउने सम्भावना हुन्छ । त्यसैले युरोपेली देशका सरकारलाई आफ्ना जनता निराश नहुने, देशको अर्थतन्त्र नरोकिने र भाइरस संक्रमण पनि नफैलने तरिकाको खोजी गर्नुपरेको छ, जुन असम्भवप्रायः देखिएको छ । ‘अहिलेको महत्वपूर्ण प्रश्न भनेको कसरी थोरैभन्दा थोरै क्षति हुने बाटो खोज्ने भन्ने मात्रै हो,’ सार्वजनिक नीतिबारे अक्सफोर्ड विश्वविद्यालयका एसोसिएट प्रोफेसर थोमस हल भन्छन्, ‘तर, यो उपाय देशअनुसार फरक हुन सक्छ ।’ उनले भने जस्तै यो निकै मुस्किल तथा समय र परिस्थितिअनुसार परिवर्तन भइरहने कुरा हो ।

तर, युरोपका तीन देश फिनल्यान्ड, नर्वे र डेनमार्कले यस्तै केही तरिका फेला पारेका छन् । अमेरिकी टेलिभिजन सिएनएनले गरेको एउटा अध्ययनअनुसार यी तीन देशले अरूले भन्दा सहज तरिकाले भाइरस संक्रमणलाई नियन्त्रणमा लिएका छन् ।

अक्सफोर्ड र जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकमाथि गरिएको विश्लेषणमा यी तीन देशले युरोपका अरू देशले भन्दा पनि आरामदायी खालका नियम लागू गरेका छन् । तैपनि उनीहरू आफ्नो देशभित्र भाइरस संक्रमणबाट हुने मृत्युदर निकै कममा रोक्न सफल भएका छन् । १ सेप्टेम्बरदेखि ३० नोभेम्बरसम्म गरिएको अध्ययनमा यी तीन देशले भाइरस संक्रमणबाट हुने मृत्युदर प्रति १० लाखमा एकजनामा सीमित राखेका छन् ।

पछिल्लो समय डेनमार्कमा भने यो समस्या केही बढ्न थालेको देखिएको छ । नोभेम्बरको अन्तिमतिर डेनमार्कमा प्रति १० लाखमा एकजनाको मृत्युदरमा केही बढेको देखिएको छ । यो शुक्रबार मात्रै पनि त्यहाँ संक्रमितको संख्या चार हजारभन्दा बढी देखिएको छ । त्यसको केही दिनअघि मात्रै देशव्यापी लकडाउनको घोषणसमेत गरिएको छ ।

उत्तर युरोपको नमुना
फिनल्यान्ड, नर्वे र डेनमार्कले सहज खालको नियम लागू गरेर पनि आफ्नो देशभित्र भाइरस संक्रमणबाट हुने मृत्युदर निकै कम राख्न सफल भए । यो कसरी सम्भव भयो ?

यी तीनै देशले भाइरस संक्रमण थोरै मात्रै बढ्दासमेत त्यसलाई नियन्त्रणमा राख्ने सबै प्रयास गरे । त्यसले पनि उनीहरूले गर्मी मौसममा भाइरस संक्रमण पूर्ण रूपमा नियन्त्रणभित्र राखे । यसले गर्दा उनीहरूलाई जाडो मौसममा भाइरसविरुद्ध अरूले भन्दा सहज तरिकाले काम गर्ने अवसर मिल्यो । त्यसकै फलस्वरूप जाडो मौसममा पनि उनीहरूले आफ्नो देशभित्र संक्रमण बढ्न दिएका छैनन् ।

विज्ञहरूका अनुसार सरकारले जारी गरेको निर्देशन र त्यसलाई पालना गर्न इच्छुक सर्वसाधारणको व्यवहारले पनि यी देशलाई भाइरस संक्रमण नियन्त्रणभित्र राख्न सहज भएको हो । त्यसमाथि तीव्र परीक्षण गर्न सक्ने र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको चाँडो पहिचान गर्न सक्ने क्षमताका कारण पनि यी देश संक्रमण रोक्न सफल भएका हुन् । यी देशले कर्मचारीहरूलाई संक्रमित भएर आइसोलेसनमा बस्नुपर्दाको अवधिमा समेत तलब दिएर संक्रमण फैलनबाट रोकेको दाबी गरेका छन् । कम्तीमा यी देशमा भाइरस समुदायस्तरमा फैलन पाएन ।

फिनल्यान्ड युरोपकै कम संक्रमित भएको राष्ट्र
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पछिल्लो महिना फिनल्यान्डमा युरोपकै कम संक्रमण र मृत्युदर छ । उसले त्यसका लागि कुनै कठिन नियम पनि लागू गरेको छैन । विश्वमा जारी गरिएकामध्ये सहज खालको नियम लागू गरेरै पनि फिनल्यान्डले संक्रमण र मृत्युदर निकै कम राख्न सफल भएको हो ।

फिनल्यान्डले आन्तरिक कुनै पनि यात्रा वा हिँडडुलमा प्रतिबन्ध लगाएन । आवश्यक परेकाहरूले विद्यालय वा कार्यालय पुगेर मान्छे भेट्न पाउँथे । उनीहरूलाई मास्क अनिवार्य पनि गरिएको थिएन । त्यसका बाबजुद पनि फिनल्यान्डले समुदायस्तरमा संक्रमण फैलन दिएन । ‘यसमा कुनै जादु छैन । व्यावहारिक तरिका अपनाएको मात्रै हो,’ ताम्पेरे विश्वविद्यालयका प्राध्यापक पेक्का नुवर्टी भन्छन् । उनी सांस्कृतिक, राजनीतिक र भौगोलिक कुराले पनि यसमा धेरै प्रभाव पारेको बताउँछन् । कम जनघनत्व, कम यात्रा र आफ्नो सरकारमाथि धेरै विश्वास हुनाले पनि यो महामारीलाई जित्न सहज बनेको उनको तर्क छ । यो सबै कुरा स्थापित गर्न देशको स्वास्थ्यसम्बन्धी निकायहरूले धेरै राम्रो प्रयास गरेको उनी बताउँछन् ।

कोरोना भाइरस संक्रमण चिसो मौसममा धेरै फैलने तथ्य यसअघि नै आइसकेको थियो । त्यसैले फिनल्यान्डले गृष्म ऋतुलाई नै जाडो मौसममा भाइरस संक्रमण रोक्नेबारे पूर्वतयारीको रूपमा प्रयोग गरेको हो । उसले संक्रमण परीक्षणका लागि आवश्यक पूर्वाधार बढाउनेदेखि धेरै तयारी गरेको थियो । उसले मेदेखि अगस्टको अवधिमा भाइरस परीक्षण गर्ने आफ्नो क्षमता चार गुणा बढाएको थियो । आन्तरिक यात्रामा रोक नलगाए पनि फिनल्यान्डले अन्तर्राष्ट्रिय यात्रामा कडाइ गरेको थियो । यसले पनि उसलाई संक्रमण रोक्न सहज बनायो ।

सरकारले नै आफ्ना नागरिकलाई घरमै आइसोलेसनमा बस्न आर्थिक सहयोग घोषणा ग¥यो । सरकारले नै क्षतिपूर्ति दिने भएपछि संक्रमित सबैजना आइसोलेसनमा बसे । यसले पनि उनीहरूलाई अवस्था नियन्त्रणमा राख्न सहज बन्यो ।

नर्वेको तरिका
नर्वेको तरिका अझ फरक छ । नर्वेले आफ्नो सीमा क्षेत्रमा संक्रमणको दृष्टिकोणले जोखिममा रहेका नागरिकलाई प्राथमिकतामा राखेर काम ग¥यो । उसले सुरुवातमा कडा खालको लकडाउनको घोषणा गरेको थियो । यद्यपि, उसले लगत्तै त्यसमा परिवर्तन गरेको थियो ।

सुरुवातमा नर्वेमा देखिएको संक्रमण विदेशबाट आएकाहरूमा बढी थियो । त्यसैले उसले विदेशबाट आएका आफ्ना नागरिकमा जनचेतना जगाउने कार्यक्रममा धेरै खर्च ग¥यो । यो कार्यक्रम देशभित्र संक्रमण रोक्ने प्रयासमा निकै प्रभावकारी देखियो ।
एजेन्सीको सहयोगमा नयाँ पत्रिकाबाट 

प्रतिकृया दिनुहोस्