RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/८ गते
५१४ पटक

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक छ ।

विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् । राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र डिप्लोम्याटिक तथा कूटनीतिक काममा आएकाले बजारमा चहलपहल नदेखिएको बताएका छन् ।

कोरोना प्रभावका कारण लामो समय बन्द रहेको नियमित व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सरकारले अहिले विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ ।

पछिल्लो समय भारतबाट काठमाडौंका लागि हवाई उडान सुचारु भएको छ । अहिले भारतबाट हवाई मार्ग हुँदै आउने भारतीय नागरिकलाई पर्यटकका रूपमा गणना गरिएको छ । सोही कारण आगामी दिनमा पर्यटक आगमन संख्या थप बढ्ने विभागको अनुमान छ ।

विभागका अनुसार सो अवधिमा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै घर फर्किने नेपालीको संख्या कुल १ लाख ५४ हजार २२१ जना रहेको छ । यसैगरी समीक्षा अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली हवाई मार्गबाट विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन् । यो अवधिमा ६१ हजार ३५१ जना पुरुष र १६ हजार ८७८ जना महिला हवाई मार्गबाट विभिन्न मुलुकतर्फ गएका छन् । राजधानी दैनिकबाट ……………

प्रतिकृया दिनुहोस्