RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/९ गते
४६६ पटक

काठमाडौं । कोभिड–१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट रु पाँच अर्ब, नेपाल राष्ट्र बैंकबाट रु तीन अर्ब, नागरिक लगानी कोषबाट रु दुई अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु दुई अर्ब जम्मा हुने यकिन भएको छ ।

यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडबाट रु एक अर्ब, कर्मचारी सञ्चय कोषबाट रु एक अर्ब, नेपाल सरकारबाट रु एक अर्ब र राष्ट्रिय बीमा संस्थानबाट रु ५० करोड जम्मा हुनेछ ।

अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा रु ३० अर्बको प्रतिबद्धता प्राप्त भएको छ । उनले निश्चित भएको रकम आवश्यकताअनुसार खातामा जम्मा हुने र कर्जा प्रवाह हुने बताए।

अर्थ मन्त्रालयले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ मा कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि रु ५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्ने उल्लेख छ ।

यसैबीच अर्थ मन्त्रालयमा बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनमध्येबाट यसै हप्कर्जा प्रवाहको प्रारम्भ गर्ने निर्णय गरेको छ ।

यस्तै व्यवसाय निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा भएको रकम र यसको अवस्थाबारे पाक्षिकरुपमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराउने, व्यवसाय निरन्तरता कर्जा प्रवाहको विवरण नेपाल बैंकर्स सङ्घले नेपाल राष्ट्र बैंकमार्फत साप्ताहिकरुपमा अर्थ मन्त्रालयलाई उपलब्ध गराउनेलगायत निर्णय पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्