RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/११ गते
८६ पटक

कृषिप्रधान देश नेपालले एक महिनामै ५ अर्बको चामल आयात गरेको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्म १३ अर्ब रुपैयाँको चामल आयात गरेको नेपालले मंसिर एक महिनामा नै ५ अर्ब रुपैयाँको थप चामल आयात गरेर १८ अर्ब रुपैयाँको चामलमात्र आयात गरेको हो ।

नेपाली नागरिकको खानपिनलाई लक्षित गर्दै कृषि सचिवले संसदीय समितिमा नै भात खाने बानीले चामल आयात बढी भएको जिकिर गरेका भए पनि कृषि मन्त्रालयले यसमा अध्ययन नै गर्नुपर्ने देखिन्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँबराबरको चामल मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ ।

एकातिर सरकार खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्छ भने अर्कातिर स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा चामल आयात भएको जनाइएको छ । साथै, चालू आर्थिक वर्षको पाँच महिनामै नेपालमा ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपैयाँको चामल, गहुँ, मकै, कोदो, जौलगायत खाद्यान्न आयात हुँदा नेपालीको खाने बानी मात्रै दोषी हो वा सरकारको अध्ययन नै नभएको हो, यसमा गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने देखिन्छ ।

चालू आर्थिक वर्षको चार महिनामा २५ अर्ब रुपैयाँको खाद्यान्न आयात भएकोमा पछिल्लो एक महिनामा थप ८ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

नेपालले खाद्यान्न आयात गर्दा सबैभन्दा धेरै भारतबाट नै गरेको छ भने चामल पनि भारतबाट नै आयात भएको छ । यसबाट सरकारी अधिकारीहरूले नेपालको कृषिजन्य उपजका बारेमा भारतको लागत तथा नेपाली लागतलगायत बजारीकरणका बारेमा पनि गम्भीरतापूर्वक विश्लेषण गर्न ढिलाइ भइसकेको छ ।

तथ्यांकमा मुलुकको बाह्य क्षेत्र ठीकै देखिए पनि वैदेशिक व्यापारका क्षेत्रमा भने नेपालले पछिल्ला एक दशकमा कुनै सुधार गर्न सकेको देखिँदैन । किनकि चालू आर्थिक वर्षको पाँच महिनमा नेपालले आफूले आयात गरेको कुल रकमको करिब १० प्रतिशतमात्रै निर्यात गरेर कमाउन सफल भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म आयात ९.५९ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँको भएको छ भने निर्यात ५.१२ प्रतिशतले बढेर ५० अर्ब ५५ करोड ६० लाख ८ हजार रुपैयाँको भएको छ । हुन त अघिल्लो आर्थिक वर्षको पाँच महिनाको आयातको दाँजोमा चालू आर्थिक वर्षको पाँच महिनामा आयात घटेको छ र निर्यात पनि बढेको छ ।

तर, कोरोना कहरका कारण सहज ढुवानी नभएर तथा उद्योग कलकारखाना बन्द रहेर घटेका आयातबाहेक अन्य आयात उल्लेख्य घटेको छैन । यस्तै, निर्यातको वृद्धि पनि दीर्घकालीन वा निर्यातयोग्य मानिएका वा विभिन्न मुलुकबाट भन्सार छूट पाएकै वस्तुको निर्यातमा पनि उल्लेख्य सुधार आएको छैन ।

त्यसैले निर्यात वृद्धि पनि ढुवानी सहज भइसक्दा नबढ्ने तथा आयात भने उल्लेख्य रूपमा बढ्ने देखिन्छ । यसबाट सरकारको नीति तथा योजनाले आयात घटेको वा निर्यात बढेको नभई परिस्थितिजन्य कारणले मात्र भएको स्पष्ट छ ।

त्यसैले कोरोनाका कारण आयात कम हुँदा निर्यातमा सामान्य वृद्धि भएर व्यापारघाटा कम हुँदै गएको देखिए पनि समग्रमा भने निर्यात बढ्न नसकेको नै हो । यसमा आयात कम गरी निर्यात बढाउनका लागि उत्पादनमा जोड दिन सरकारका स्पष्ट नीति र योजना नै चाहिन्छ ।

कारोबार दैनिकबाट………………..

प्रतिकृया दिनुहोस्