RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१२ गते
६९१ पटक

पुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको छ । सो अवधिमा ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणको पाँच वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरिएकोमा ७० प्रतिशतले घर पुनर्निर्माण गरिसकेको र २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैयाँ रहेको र हालसम्म सरकार एवं दातृ निकायहरुको समेत गरी कूल ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए । ‘निजी आवासको पुनर्निर्माणमा हामीले ९० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेका छौं,’ उनले भने ।

प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४ सय ८७ अर्थात् ७० प्रतिशत लाभग्राहीहरुले घर पुनर्निर्माण गरिसकेका छन् भने १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा छन् । बाँकी लाभग्राहीहरुले यसै आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्नेछन् ।

निजी आवास पुनर्निर्माणका क्रममा प्राधिकरणमा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुका सम्बोधन गरेको प्रमुख ज्ञवालीले बताए । ‘गुनासो सम्बोधनबाट थपिएका पुनर्निर्माण लाभग्राहीको संख्या १ लाख ६ हजार ४ सय ६५ छ भने प्रबलीकरण लाभग्राहीको संख्या ६७ हजार ६ सय ८१ छ,’ उनले भने ।

प्राधिकरणले करिब नौ सयजना घुम्ती डकर्मी र २ सय ५४ जना सामाजिक परिचालकहरुको परिचालनसहित बिशेष अभियानमा अघि बढाएको छ । प्राधिकरणले सहयोगमा २ सय ४२ घर निर्माण सम्पन्न भइसकेका छन् भने ठूलो संंख्यामा थप निर्माण कार्य अघि बढेको बताइएको छ ।

यो अवधिमा ८१ प्रतिशत विद्यालय, ५८ प्रतिशत स्वास्थ्य संस्थाहरु, ९० प्रतिशत, सुरक्षा निकायका ९६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५१ प्रतिशत र सडकतर्फ ७० प्रतिशत पुनर्निर्माण भएको जनाइएको छ । यसले करिब १६ करोड ६० लाख कार्य दिन बराबरको रोजगारी सिर्जना गरेको छ ।

२०७२ साल वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका परकम्पहरुबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार पाँच वर्ष पूरा गरेको छ । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ ।

मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो ।
आगामी आर्थिक वर्षको बाँकी अवधि (२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फस्र्यौट गर्ने जनाएको छ ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ भने ११ हजार ४ सय ३७ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । १ हजार ३ सय ५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको छ । निर्माणाधीन १३० एकीकृत बस्तीमध्ये ५० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी पुनर्निर्माण भइरहेका छन् ।

‘क्षतिगस्त ९ सय २० वटा सम्पदामध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेका छौं भने बाँकी सम्पदा पुनर्निर्माणको चरणमा छन्,’ ज्ञवालीले भने । रानीपोखरी पुनर्निर्माणको कार्य सम्पन्न भएको छ भने धरहराको २० औं तल्ला पुनर्निर्माण भइरहेको छ । बाँकी २ तल्ला छिट्टै संम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा अर्थात् ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ वटा पुनर्निर्माणको चरणमा छन् । प्राधिकरण अन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचना मध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ वटा पुनर्निर्माणको चरणमा रहेका छन् ।

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किमी सडक पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ किमी सडकको पुनर्निर्माण अन्तिम चरणमा रहेको जानकारी दिइएको छ । करिब ८ लाख घरपरिवारको बैंक खातामार्फत् वित्तीय पहुँचमा वृद्धि भएको छ ।

दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको रकम ४१० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । यसमध्ये २ खर्ब ३८ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । साथै गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालन गर्नका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन गरिएको छ ।

समयमै बनेनन् संरचना
३ वर्षभित्र निजी आवास, ५ वर्षमा पूर्वाधारका अन्य क्षेत्र र ७ वर्षभित्र पुरातात्विक सम्पदा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो । तर शुक्रबार ५ वर्ष पूरा गर्दै गर्दा पनि निजी आवासको निर्माण सम्पन्न गरेको छैन ।
निजी आवास निर्माणका लागि ७ लाख ९४ हजार ९ सय ७७ ले अनुदान सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शनिबार अपडेट गरेको तथ्यांकमा उल्लेख छ ।

निजी आवास तर्फ ५ लाख ५८ हजार ७ सय ९९ निर्माण गरेको जनाएको छ । लाभग्राहीको सूचीमा परेर अनुदान सम्झौता गरेका ७ लाख ९४ हजारमध्ये प्रबलीकरण सूचीमा परेका लाभग्राहीको संख्या भने ७८ हजार ३३ मात्र रहेको छ । पहिलो किस्ता लिनेमा ७ लाख ९० हजार २ सय ६६ जना, दोश्रो किस्ता लिनेमा ६ लाख ८१ हजार ३ सय २७ र तेश्रो किस्ता लिनेमा ६ लाख १३ हजार ६ सय १३ प्रभावित रहेको प्राधिकरणले जनाएको छ । तीमध्ये ५ लाख ५८ हजार ७ सय ९९ मात्र निजी आवास निर्माण सम्पन्न भएका छन् । कारोबार दैनिकबाट …………..

प्रतिकृया दिनुहोस्